हेटौँडा । मकवानपुरको बकैयामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो। भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटना हुँदा बकैया–५ भनौरा निवासी ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए।

घाइतेहरूलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएकोमा सन्तबहादुर र शान्तिमायालाई थप उपचारका लागि भरतपुर, चितवन रिफर गरिएको थियो। भरतपुर लैजाने क्रममा सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले अपराह्न ५:२० बजे मृत घोषणा गरेका थिए।

शान्तिमाया माझीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने सन्देश कुमार मुक्तान सामान्य घाइते भएका छन्। अटो चालक बकैया–४ निवासी ५१ वर्षीय रामकाजी माझी प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।