हेटौँडा । मकवानपुरगढी गाउँपालिका–२, दुविचौरस्थित कान्तिलोकपथ सडकखण्डमा बसको साइड डिक्कीको ढोकाले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार अपराह्न करिब ४ बजे बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६४ नम्बरको बसको साइड डिक्कीको ढोकाले ठक्कर दिँदा मकवानपुरगढी गाउँपालिका–२ निवासी ४१ वर्षीय वीरबहादुर स्याङ्तान घाइते भएका थिए।

ठक्करबाट स्याङ्तानको टाउको, छाती र खुट्टामा चोट लागेको थियो। घाइतेलाई बसका सहचालकले उपचारका लागि हेटौँडा अस्पताल ल्याएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साँझ ६:३० बजे मकवानपुर सहकारी अस्पताल लगिएको थियो।

मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा चिकित्सकले स्याङ्तानलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय ठिङ्गन र अस्थायी प्रहरी पोस्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।