हेटौंडा । हेटौंडामा १७ वर्षीया अनिशा बिकको शंकास्पद मृत्यु प्रकरणमा आरआर दोहोरी तथा थकाली घरका म्यानेजर सुवास स्याङ्ताङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । दोहोरीका सञ्चालक राजकुमार मोक्तान भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी १७ वर्षीया बिकको शंकास्पद अवस्थामा मृत्यु भएको घटनामा प्रहरीले म्यानेजर स्याङ्ताङ र सञ्चालक मोक्तानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २९ वर्षीय स्याङ्ताङलाई भदौ ११ गते पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको हो । यस्तै ४५ वर्षीय मोक्तानलाई अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको प्रहरीले जनाएको छ।

यसअघि घटनामा स्याङ्ताङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । मृतकका परिवारले घटना हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएपछि दोहोरीका सञ्चालक मोक्तानलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो।