हेटौंडा । सेवाग्राहीलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निको अस्पताल प्रा. लि., हेटौंडा–२ र सियान पुनर्स्थापना केन्द्रबीच स्वास्थ्य उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ।
सम्झौतासँगै सियान पुनर्स्थापना केन्द्रबाट उपचार तथा आवश्यक स्वास्थ्य सेवाका लागि निको अस्पतालमा रेफर गरिएका सेवाग्राहीले अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्।
सम्झौताको मुख्य उद्देश्य पुनर्स्थापना सेवामा रहेका सेवाग्राहीको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन, आवश्यक चिकित्सकीय परामर्श, स्वास्थ्य परीक्षण तथा उपचारमा सहज पहुँच सुनिश्चित गर्नु रहेको जनाइएको छ।
सम्झौताअनुसार सेवाग्राहीलाई आवश्यकताअनुसार चिकित्सक तथा विशेषज्ञ परामर्श, प्रयोगशाला परीक्षण, USG, एक्स–रे लगायतका निदानात्मक सेवा तथा आवश्यक अस्पताल उपचारमा सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यसैगरी, बिरामीको स्वास्थ्य अवस्था जटिल भएमा समयमै थप उपचार तथा विशेषज्ञ सेवाका लागि रेफरल र समन्वय गर्ने व्यवस्था समेत सम्झौतामा समेटिएको छ।
निको अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै पुनर्स्थापना केन्द्रसँग आवश्यक चिकित्सकीय समन्वय गर्ने तथा सियान पुनर्स्थापना केन्द्रले आफ्ना सेवाग्राहीलाई आवश्यक स्वास्थ्य उपचारका लागि निको अस्पतालसँग समन्वय गर्ने सहमति भएको छ।
सम्झौताले पुनर्स्थापना सेवामा रहेका व्यक्तिहरूलाई स्वास्थ्य उपचारमा आर्थिक तथा पहुँचसम्बन्धी कठिनाइ कम गर्दै स्वास्थ्य उपचार र पुनर्स्थापना सेवालाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।
निको अस्पताल प्रा. लि. र सियान पुनर्स्थापना केन्द्रबीच भएको यो सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य उपचार समयमै उपलब्ध गराउनुका साथै स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्य र सामाजिक उत्तरदायित्वलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।












