हेटौंडा/नवसर्जक साहित्य चौतारी नेपाल र नेपाली भाषा शिक्षक समिति मकवानपुरको संयुक्त आयोजनामा शुक्रबार कवितालेखन कार्यशाला भएको छ ।
नेपाली भाषा शिक्षक समिति मकवानपुर अध्यक्ष ज्योति न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा विशिष्ट अतिथि तथा विज्ञ सहजकर्ताका रुपमा प्राडा देवी नेपाल सहभागी भए । हेटौंडा–५ का अध्यक्ष सुशील घिमिरे, वडा–११ की अध्यक्ष जुनाकुमारी दाहाल तथा सर्जकसञ्जाल मकवानपुर संयोजक डा. निमेष निखिलको समेत उपस्थिति थियो ।
कार्यशालामा ३० विद्यालयका २ सय २५ भन्दा बढी विद्यार्थी तथा शिक्षकको सहभागिता थियो । कार्यक्रममा प्राडा नेपालले कविता लेखनसम्बन्धि व्यवहारिक तथा सिर्जनात्मक प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रम सफल बनाउन जेनिथ इङ्ग्लिस स्कुल हेटौंडा–५ परिवारले खाजा तथा सभाहल व्यवस्थापनलगायत कार्यमा सहकार्य गरेको थियो ।
ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी कक्षा–१० की छात्रा आरोही राईले विज्ञ सहजकर्ता डा.नेपाललाई आकर्षक तस्बिर उपहार प्रदान गरेकी थिइन् । आयोजक संस्थाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, विद्यालय, शिक्षक, विद्यार्थी, पदाधिकारी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।











