हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा सवार ६ जना घाइते भएका थिए। घाइते हुनेमा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, चालक छुनिलाल चौधरी, तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु रहेका छन्।

दुर्घटनापछि सबै घाइतेलाई उद्धार गरी प्रारम्भमा भीमफेदी अस्पताल पुर्‍याइएको थियो। गम्भीर घाइते ४९ वर्षीया लक्ष्मी बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार लक्ष्मीको मंगलबार बिहान १०ः२९ बजे उपचारकै क्रममा मृत्यु भएको हो। उनको शव छाउनी अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमध्ये चालक चौधरी, मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडु, रितेन्द्र बडु र रिता बडुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।