काठमाडौं/ललितपुर महानगरपालिकाले नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारीरुपमा उपलब्ध गराउने उद्धेश्यले चिकित्सकसहित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा महानगरपालिकाले उक्त सेवाको औपचारिक शुभारम्भ गरेको हो ।
कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पु¥याउनुअघि नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले चिकित्सकसहित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा बिरामीलाई आवश्यक प्राथमिक उपचार, जीवनरक्षक सेवा तथा स्वास्थ्य निगरानी प्रदान गरिनेछ । यसले गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म सुरक्षितरुपमा पु¥याउन तथा उपचारमा हुने ढिलाइका कारण उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । महानगरले सञ्चालनमा ल्याएको सेवाका लागि सर्वसाधारणले निःशुल्क टेलिफोन नम्बर ११३१ मा सम्पर्क गर्नसक्ने जानकारी पनि दिइएको छ ।
महानगरका अनुसार चिकित्सकसहित एम्बुलेन्स सेवा सञ्चालनस“गै आकस्मिक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउ“दै समयमै उपचार पहु“च सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुर्घटना, हृदयघात, स्ट्रोकलगायत जटिल अवस्थामा अस्पताल पुग्नुअघि आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउन सकिने भएकाले महानगरबासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।











