बुटवल÷लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा अधिवेशनको मितिका सम्बन्धमा उत्पन्न विवादको विषयले कुटपिटसम्म पु¥याएको छ । संघको भैरहवास्थित कार्यालयमा भएको बैठकमा विवादले वैठक स्थगित भएपछि लुम्बिनी निर्माण व्यवसायी महासंघ प्रदेश महासचिव एवम् संघ निर्वतमान अध्यक्ष विनय ज्ञवालीले संघका कार्यबाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात गरेका छन् । ज्ञवालीले बेल्बासेमाथि मुक्का प्रहार गर्दा कानको जालीमा असर परेको बेल्बासेले बताए ।

जेठमा बसेको संघको कार्यसमिति बैठकले २०८३ मंसिर १२ र १३ गते अधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा बैठकमा एजेण्डा नै नरहेको अधिवेशनको मिति असोजमा गर्नुपर्ने विषय संघका सदस्य शुभम् रौनियारले उठाएपछि विवाद बढेको बेल्बासेले बताए । मंसिरसम्म आफ्नो कार्यकाल रहेकाले मंसिरमै अधिवेशन गर्ने निर्णय भएर महासंघको प्रदेश समितिमा पनि जानकारी गराइएको थियो । आफ्नै कार्यकक्षमा प्रदेशकै महासचिवबाट कुटपिट हुनुले सिंगो संस्थाको बदनाम भएको उनले गुनासो गरे । ‘संघको निवर्तमान अध्यक्ष तथा प्रदेश महासचिव अभिभावकको भूमिका खेल्नुपर्नेमा उल्टै हातपातमा उत्रि“दा निर्माण व्यवसायीकै बदनाम भयो,’ बेल्बासेले भने । कुटपिटपछि बेल्बासेले वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारबाहीको माग गर्दै उजुरी दिए पनि समस्या समाधान नभएपछि जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिने बताए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेद्वारी दिएपछि संघ अध्यक्ष मञ्जु ज्ञवालीभुसालले महासचिव प्रितम रौनियारलाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन् । भुसालको निर्णयविरुद्ध अदालतमा मुद्धासमेत परेको थियो । रौनियारलाई कार्यबाहक तोक्नु संस्थाको विधानविपरीत भएकाले बेल्बासे कार्यबाहक अध्यक्ष बनेका हुन् । विधानविपरीत कार्यबाहक तोक्ने काम भएपछि नै संघमा आन्तरिकरुपमा राजनीतिक द्वन्द्व शुरु भएको संघका सल्लाहकार जवीन कक्षपतिले बताए ।

व्यावसायिक संस्थालाई राजनीतिक छायाबाट अलग राख्नुपर्नेमा सत्ता र शक्तिको आडमा संस्थामा अनुचित चलखेल गलत भएको उनले बताए । संघ निवर्तमान अध्यक्ष एवम् प्रदेश महासचिव ज्ञवालीले कार्यबाहक अध्यक्ष बेल्बासेले अमर्यादित शब्द बोलेकाले आफूलाई सह्य नभएपछि हातपात गर्न बाध्य हुनुपरेकोे स्वीकार गरेका छन् ।