हेटौंडा/देशभरका मुख्य राजमार्गहरुको अवस्था वर्षायाममा अत्यधिक बिग्रने गरेको छ । बाढी, पहिरो र समयमै मर्मत नहुँदा नेपालका प्रमुख राजमार्गहरुमा ठूला खाडलहरु बन्ने, सडक भासिने र घण्टौंसम्म यातायात अवरुद्ध हुने समस्या आमरुपमा देखिएको छ । यात्रा गर्ने यात्रुहरुले सधैं सास्ती भोग्नुपरेको छ ।

सडक समयमै कालोपत्र वा मर्मत नहुँदा  ठाउँठाँउ मा ठूला खाडल र हिलाम्मे अवस्था हुन्छ । जोखिम बढेपछि सुरक्षाका लागि कतिपय मुख्य सडकहरुमा रातको समयमा सवारी चलाउन रोक लगाइने गरिएको छ । यसकै एक उदाहरण बनेको छ–हेटौंडा उपमहानगरपालिका–१५ स्थित मुख्य राजमार्गदेखि चुरियामाई मन्दिरसम्म पुग्ने सडक । उक्त सडक जीर्ण बन्दै गएपछि स्थानीयले गुनासो गरेका छन् । स्थानीयका अनुसार उक्त सडकमा सयौं सानाठूला खाल्टाखुल्टी परेका कारण दैनिक आवतजावत गर्न निकै सास्ती हुने गरेको छ ।

खाल्टाखुल्टीका कारण बजार आवतजावत गर्दा सवारीसाधन पटकपटक खाल्टोमा फस्ने गरेको हेटौंडा–१४ का स्थानीय मिसन नगरकोटीले बताए । आफू अध्ययनका लागि दिनहुँ बजार जानुपर्ने र साधन लिएर जाँदा खाल्टोमा धेरै पटक फसेको उनले बताए । ‘बर्खामा त पानीले बाटोमा केही देखिन्न । अनि झ्वाम्मै खाल्टोमा फसिन्छ,’ नगरकोटीले भने ।

आवतजावत गरिरहेका सवारीसाधन खाल्टोकै कारण दुर्घटनामा पर्ने गरेको उनले बताए । वर्षामा ती खाल्टाहरुमा पानी जम्दा सडकको वास्तविक अवस्था देख्न नसकिएकाले दुईपांग्रे तथा चारपांग्रे सवारी दुर्घटनाको जोखिम बढेको पाइन्छ । बाटोका खाल्टाखुल्टी केही समय अघिमात्र मर्मत गरिए पनि छोटो समयमै अव्यवस्थित भएको स्थानीय मोहन श्रेष्ठले गुनासो पोखे । ‘सडक विभागले बाटोको मर्मत गरेजस्तो ग¥यो, तर २ महिना पनि नबित्दै बाटोमा खाल्टा पर्न थाल्यो,’ श्रेष्ठले प्रश्न गरे–उक्त बाटोमा स्थानीय र प्रदेश सरकारका नेताहरु पनि आवतजावत गर्छन् । उनीहरुले यस बाटोको खाल्टा देखे कि देखेनन् ? पानी नपरेको समयमा पनि धुलो र असमान सडकका कारण सवारी सञ्चालनमा समस्या हुने तथा यात्रुहरुले असहज यात्रा गर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

चुरियामाई मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य भए पनि त्यसतर्फ जाने मुख्य सडकको दयनीय अवस्थाले स्थानीय, भक्तजन तथा पर्यटक सबै प्रभावित भएको उनले बताए । उक्त बाटो तुरुन्त मर्मत गर्न सडक डिभिजन कार्यालय, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका तथा संघीय सरकारको ध्यान जानु अति जरुरी रहेको उनले बताए । सम्बन्धित निकायले समयमै चासो नदिए दुर्घटनाको जोखिम अझ बढ्ने स्थानीयको गुनासो छ ।

हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडास्थित मुख्य राजमार्गदेखि मनहरीसम्म पुग्दा सयौं खाल्टाखुल्टी पार गर्दै जानुपर्ने बाध्यता रहेको हेटौंडा–११ का गोबिन्द न्यौपानेले बताए । पानी परेको बेलामा सडकका खाल्टाखुल्टीमा पानी जमेर सवारीसाधन दुर्घटना भइरहेको उनले बताए । सडक डिभिजन कार्यालय, स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति जिम्मेवार नबनेको भन्दै उनले गुनासो पोखेका छन् ।

स्तरोन्नतिमा बहुआयामिक पाटो

हाम्रो मुलुकमा सडक निर्माण वा स्तरोन्नति समयमै नसकिनुमा बहुआयामिक पाटो जोडिएको छ । पहिलो कुरा राज्यप्रणालीको उपल्लो तहमा भएकाहरुलाई नै भौतिक पूर्वाधार विकास केका लागि र त्यस पूर्वाधारले आर्थिक÷सामाजिक रुपान्तरणमा के भूमिका खेल्छ भन्ने सामान्य चेत नै छैन । पूर्वाधार विकास कसरी बृहत् आर्थिक, सामाजिक रुपान्तरणमा जोडिन्छ भन्ने सोच भएन । त्यसले गर्दा हाम्रा अन्यजस्तै सडक आयोजना पनि बृहत् सोचबिना बनाइएका आयोजना बनेका छन् ।

नेताको आ“खाले जहा“ देख्छ, त्यसलाई टिपेर योजनामा हाल्ने र जसरी हुन्छ उद्घाटन गर्ने र यसैलाई विकास मान्ने परिपाटी नै मुख्य समस्या हो । कुनै ठाउ“मा बाटो बनाइयो, किन बनाइयो ? त्यसको औचित्य के ? त्यसले आर्थिक÷सामाजिकरुपमा दिने योगदान के, कसैलाई थाहा हु“दैन । आयोजना व्यवस्थापनामा पनि हामीमा ठूलो समस्या छ । हामीले बनाएका र बनाइरहेका थुप्रै आयोजना दाताहरुको प्राथमिकताले निर्धारण गरेको छ । दाताले पहिचान गरेका आयोजनालाई उनीहरुकै कार्यविधिबाट बनाउनु पनि समस्या हो । हुन त हामी ऋणमा बनाउँछौं । तर, दाताले पहिचान गरेको आयोजना त्यसको खरिद प्रक्रियादेखि नै समस्या हुन थाल्छ । दाताले विदेशी कन्सल्ट्यान्ट, विदेशी ठेकेदार राख्ने प्रस्ताव गर्छन् र त्यो यताबाट स्वीकृत हुन्छ । राज्यसञ्चालनको जिम्मवारीमा बसेका व्यक्तिले आफ्नो मौलिक पहिचान, मौलिक समाधान दिन सकेको छैन ।

पूर्वाधार निर्माणको जबर्जस्त पक्ष आन्तरिक क्षमता हो । हाम्रा आफ्नै इञ्जिनियर, कन्सल्ट्यान्ट, निर्माण कम्पनी, ठूला आयोजना बनाउन सक्ने क्षमताका छन् । यस्तो कुरामा आफ्नो जनशक्ति र स्रोत प्रयोग हुँदा वित्तीय क्षमता अलि सहज हुन्छ । तर, दाताले पहिचान गरेको आयोजनामा उनीहरुकै जनशक्ति हुँदा खटनपटन उसको हुने नै भयो । हामीले ऋण लिएर बनाइरहेको आयोजनामा सामान्य विदेशी इञ्जिनियरले २५ देखि ३० हजार डलर लिइरहेका छन् । यस्तो कुरामा हाम्रो राज्यसंयन्त्र उदासिन छ । अरु देशमा ऋणमै बनाइरहेका आयोजनामा आफ्नो कडिकडाउ हुन्छ । आयोजना बनाउने र व्यवस्थापन गर्ने हाम्रो आफ्नै क्षमता छ । जुन राज्यसंयन्त्रले प्रयोग गर्नै चाहेको छैन । यसबारे स्पष्ट दृष्टिकोण नै छैन । सबै जिम्मा विदेशी निर्माण कम्पनीलाई दि“दा सानो कुरामा पनि समस्या हुन्छ । मुद्धामामिला गर्नुप¥यो भने राजदुताबास सक्रिय भइदिन्छन् । कुटनीतिक विषय बन्न पुग्छ ।

यातायातको जुन चाप र माग हुन्छ, त्यो मानिसको आम्दानीमा भर पर्छ । कुनै एक विन्दुमा पुगेपछि चाहिं रोकिन्छ । हाल हाम्रो आम्दानी र यातायातको माग दुवै बढिरहेको अवस्था छ । त्यसकारण हामीले हाललाई भन्दा पनि अबको २०–३० वर्ष पछिलाई हेरेर योजना बनाउनुपर्छ । पूर्वाधार निर्माणको हाम्रो आधारभुत संरचना, शैली माथिल्लो तहमा, योजना तर्जुमाको तहमा, आयोजनाहरु छान्ने तहमा र त्यसको अध्ययन गर्ने तहमै फेरिनुपर्ने अवस्था छ ।