हेटौंडा । साउन १ देखि मन्त्रालय गाभिएपछि बागमती प्रदेश सरकारले प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यसम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुबेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी हुमागाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा. सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ ।
कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा.केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो । उक्त जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यसम्पन्न नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताउनुभयो ।











