दोलखा/आफ्नै विश्वकीर्तिमान तोड्ने सपनासहित पाकिस्तानको ब्रोड पिक हिमाल (८,०५१ मिटर) आरोहणको क्रममा साउन १४ गते बिहीबार हिमपहिरोमा मृत्यु भएका दोलखा गौरीशंकर–९, बेदिङका ४५ वर्षीय आरोही किली पेम्बा शेर्पा (किलु) को दाहसंस्कार बौद्ध परम्पराअनुसार शुक्रबार काठमाडौंको टेकुमा गरिएको छ ।
मंगलबार सा“झ पाकिस्तानबाट नेपाल ल्याइएको आरोही पेम्बाको पार्थिव शरीरलाई काठमाडौं गौरीगाउ“स्थित उनको निवासमा राखिएको थियो । बौद्ध परम्पराअनुसार साइत निस्किएको दिन शुक्रबार टेकुमा दाहसंस्कार गरिएको पेम्बाका काका दावाछिरी शेर्पाले बताए । कीर्तिमानी आरोही पेम्बाको दाहसंस्कारमा पूर्वमन्त्री कुलमान घिसिङ, आनन्दप्रसाद पोखरेल, दोलखा गौरीशंकर गाउ“पालिका अध्यक्ष विश्वास कार्की, वडा नम्बर–९ का अध्यक्ष ङिमा गेलीशेर्पालगायतको उपस्थिति थियो । कार्यक्रममा सरकारी प्रतिनिधिको भने सहभागिता नरहेको काका दावा छिरीले बताए । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) लगायत विशिष्ट व्यक्तिहरु विश्वकीर्तिमानी आरोही पेम्बाको घर पुगेर मृतकप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
आरोही पेम्बाले सन् २०२१ जनवरी १६ मा १० सदस्यीय आरोहण टोलीमा सहभागी भएर विश्वको दोस्रो अग्लो हिमाल केटुको पहिलो शीतकालीन सफल आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए । उनले असोजमा आठ हजारमाथिका १४ हिमालको सफल आरोहण गरेर अर्को विश्वकीर्तिमान कायम गरेका थिए । निर्मल पुर्जाको टिममा रहेर दोस्रो पटक आठ हजारमाथिका १४ वटा हिमाल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्ने चाहनासहित १४ जुन २०२६ मा पाकिस्तान गएको उनको टोली साउन १४ गते बिहीबार ब्रोड पिक आरोहणको क्रममा ६,६५९ मिटर उचाईंमा पुग्दा हिमपहिरोमा परेको हो ।
मृतक आरोही किलुकी पत्नी टासी लुमुशेर्पा, एक छोरा र एक छोरी छन् । परिवारमा कमाइ गर्ने मूलीको मृत्यु भएको र आर्थिक अवस्था कमजोर रहेकाले विश्वकीर्तिमानी आरोही पेम्बाका छोराछोरीको पढाइमा राज्यले सहयोग गर्नुपर्ने काका दावा छिरी बताउ“छन् । आरोही पेम्बाको छोरीले स्नातक तहसम्मको पढाइ सकेको र छोराले कक्षा–१२ सम्मको पढाइ सकेको दावा छिरीले बताए । दोलखाली छोरा भएर हिमाल आरोहणको क्षत्रमा दुई पटक विश्वकीर्तिमान कायम गरिसकेकाले सबै राजनीतिक दल र स्थानीय सरकारको पहलमा पेम्बाको शालिक दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा राखिनुपर्ने काका दावा छिरीको माग छ ।











