हेटौंडा/हेटौंडा–५, सानोपोखरामा जन्मिएका सामाजिक अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’ बाट सम्मान गरिएको छ । आरोही बिट्सले प्रदान गरेको सम्मानपत्रमा महतलाई ‘निडर अभियन्ता’ का रुपमा उल्लेख गर्दै अन्याय र भ्रष्टाचारविरुद्ध अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा पु¥याएको योगदानको प्रशंसा गरिएको छ ।

लामो समयदेखि आमनागरिकका समस्या बोकेर सम्बन्धित निकायको ढोका ढकढक्याउँदै आएका सामाजिक अभियन्ताका रुपमा परिचित उहाँ अन्याय देख्दा चुप नबस्ने, पीडितको आवाजलाई सम्बन्धित ठाउँसम्म पु¥याउने र सार्वजनिक सरोकारका विषयमा खरोरुपमा प्रश्न उठाउने शैलीले हेटौंडामा छुट्टै पहिचान बनाउनुभएको छ ।

उहाँको सामाजिक यात्रा भने केवल विरोध र खबरदारीमा सीमित छैन । शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा सामाजिक सेवाका क्षेत्रमा समेत उहाँ निरन्तर सक्रिय रहँदै आएउनुभएको छन् । ‘सेवा, सहयोग र आवाज’ अभियानमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका व्यक्तिका लागि उपचारको पहलदेखि विपन्न तथा असहाय परिवारलाई सहयोग जुटाउने कामसम्ममा उहाँको सक्रियता देखिन्छ ।

नागरिकको स्वास्थ्य र अधिकारका विषयमा आवाज उठाउँदा महतले व्यक्तिगत कठिनाइसमेत सामना गर्नुभएको छ । हेटौंडा अस्पतालसँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा आमनागरिकको पक्षमा आवाज उठाउने क्रममा उहाँले हिरासतसमेत खेप्नुभएको थियो । त्यसपछि आमनागरिक तथा राजनीतिक दलहरुको पहलमा उहाँ हिरासतमुक्त हुनुभएको थियो । उक्त घटनाले उहाँको सामाजिक अभियानमा व्यक्तिगत जोखिम मोल्नसमेत तयार रहने स्वभावलाई थप उजागर गरेको थियो ।

पछिल्लो समय औद्योगिक प्रदुषण, वातावरणीय समस्या र नागरिक अधिकारका विषयमा पनि महतको सक्रियता बढेको छ । विशेषगरी सिमेन्ट उद्योगबाट प्रभावित हेटौंडा–१६, १७ र १८ लगायत क्षेत्रका नागरिकका सवालमा उहाँले निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उद्योग, स्थानीय सरकार र सम्बन्धित निकायसँग नागरिकका समस्या समाधानका लागि प्रश्न गर्ने तथा प्रभावित समुदायको पक्षमा उभिने उहाँको अभियानले स्थानीय तहमा चर्चा पाएको छ ।

महतको विशेषता नै यही हो-जहाँ सामान्य नागरिकको आवाज पुग्न कठिन हुन्छ, त्यहाँ उहाँ प्रश्न बोकेर पुग्नुहुन्छ । पहुँच, प्रभाव वा दबाबभन्दा नागरिकको समस्या ठूलो हुनुपर्छ भन्ने मान्यतासाथ उहाँ सामाजिक अभियानमा सक्रिय रहेको उहाँका समर्थकहरु बताउँछन् ।

सामाजिक अभियन्ताका रुपमा महतले उठाउँदै आएका विषयहरुमा भ्रष्टाचारविरुद्ध खबरदारी, सार्वजनिक सेवाप्रवाहमा सुधार, स्वास्थ्य सेवामा नागरिकको पहुँच, वातावरण संरक्षण, शिक्षा, विपन्न वर्गको सहयोग तथा स्थानीय तहमा हुने अनियमिततामाथि प्रश्न उठाउने विषय प्रमुख छन् ।

‘आरोही व्यक्तित्व सम्मान’ महतका लागि एउटा सम्मानपत्र मात्र होइन, वर्षौंदेखि भुइँमान्छेका समस्या बोकेर हिँडेको सामाजिक यात्राको सार्वजनिक सम्मानका रुपमा हेरिएको छ । व्यक्तिगत लाभभन्दा नागरिकका सवाललाई प्राथमिकता दिँदै आउनुभएका महतले प्राप्त गरेको सम्मानले उहाँको अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।