हेटौँडा । ३२औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिले दुई पत्रकारलाई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

हेटौँडामा आयोजित अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहमा ‘क्षेमबहादुर–राजकुमार बानियाँ स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट नयाँ पत्रिका दैनिकमा कार्यरत धादिङकी पत्रकार शान्ति तामाङ सम्मानित भएकी छन्। पुरस्कारको राशि १५ हजार १ सय रुपैयाँ रहेको छ।

त्यस्तै, ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८३’ नमस्ते मनहरी डटकममा कार्यरत तथा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १० हजार १ सय रुपैयाँ रहेको छ।

क्षेमबहादुर–राजकुमार बानियाँ स्मृति पुरस्कार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका स्वर्गीय पिता क्षेमबहादुर बानियाँ र दाजु स्वर्गीय राजकुमार बानियाँको स्मृतिमा स्थापना गरिएको हो। आइते सिं–बुद्धिमाया रुम्बा स्मृति पुरस्कार तामाङ पत्रकार संघका संघीय सदस्य राजेश रुम्बा लामाका स्वर्गीय बुबा आइते सिं रुम्बा र आमा बुद्धिमाया रुम्बाको स्मृतिमा स्थापना गरिएको हो।

पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले पुरस्कार तथा सम्मान प्रदान गरे।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का कोषाध्यक्ष अर्जुनबहादुर ग्लान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, महासंघका पूर्वअध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन बिडारीलगायतको उपस्थिति थियो।

त्यस्तै, तामाङ पत्रकार संघका संघीय सदस्य राजेश रुम्बा, राजकुमार स्याङबो, नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्मराम मोक्तानलगायत सहभागी थिए।

तामाङ पत्रकार संघ बागमती प्रदेश समितिका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।