काठमाडौं/सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता छन् । उनी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र–१ बाट निर्वाचित भएका हुन् ।

उनी डडेल्धुराको अजयमेरु गाउ“पालिका–४, चौडीमा २०३१ पुस २ मा स्व. रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रुपमा जन्मिएका हुन् । भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बित्यो । उनको शैक्षिक योग्यता आईएल तहसम्मको छ । भूमिगत् राजनीतिदेखि संगठनात्मक जिम्मेवारीसम्म भट्टले २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिकयात्रा सुरु गरेका थिए । २०५० असोजदेखि उनी पार्टीको पूर्णकालीन सदस्य बने । सोही वर्षको कात्तिकमा नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाले ।

राजनीतिक गतिविधिका क्रममा २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट राज्यविरुद्ध अपराधसम्बन्धि मुद्धामा पक्राउ परेका भट्टले २०५३ पुस ८ गतेसम्म जेलजीवन बिताए । त्यसपछि उनी तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा २०५२ फागुन १ देखि २०६३ बैशाख १२ गतेसम्म भूमिगत् राजनीतिक गतिविधिमा सक्रिय रहे । माओवादी आन्दोलनका क्रममा उनी २०५८ साउनमा नेकपा माओवादीका डडेल्धुरा जिल्ला सेक्रेटरी, २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इञ्चार्ज, २०६० मा केन्द्रीय सदस्य बने । भट्टले २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाले ।

पछि नेपाल कम्युनिष्ट पार्टी एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा २०७६ मा उनी सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बने । नेकपा विभाजनपछि २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाले । भट्टले २०८० मा पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारी प्राप्त गरे ।

नवनियुक्त मुख्यमन्त्री भट्ट संसदीय राजनीतिमा पनि निरन्तर सक्रिय छन् । डडेल्धुराबाट उनी २०६४, २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बने, तर नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम् प्रतिद्वन्द्वी रहे । २०७९ को प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा क्षेत्र–१ बाट प्रत्यक्ष निर्वाचित भएस“गै भट्टको राजनीतिक भूमिका प्रदेशसभामा केन्द्रित भयो । उनलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो । २०८० मा भट्ट सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता बने, तर यसअघि मुख्यमन्त्री बन्ने अवसर आएन । लामो समय संगठनात्मक तथा राजनीतिक भूमिकामा रहेका भट्टका लागि प्रदेशसभा प्रवेशले जनप्रतिनिधिका रुपमा नीतिनिर्माण र प्रदेश विकासका मुद्धामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्रदान ग¥यो ।

भट्टले आफ्नो राजनीतिक तथा संसदीय यात्रामा सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासको वकालत गर्दै आएका छन् । उनले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गर्दै आएका थिए । सुदूरपश्चिमको सम्भावनालाई प्रदेशको समग्र विकासस“ग जोड्नुपर्ने उनको सैद्धान्तिक अडान रह“दै आएको छ ।

लामो राजनीतिक संघर्षबाट प्रदेशसभाको नेतृत्व तहसम्म आइपुगेका भट्ट आफूलाई सादगी, विकासप्रेमी र सुशासनका अभियन्ताका रुपमा प्रस्तुत गर्दै आएकोमा अब त्यसलाई प्रमाणित गने जिम्मेवारी पाएका छन् । लामो राजनीतिक संघर्षबाट प्राप्त अनुभव र लामो प्रतीक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई अब प्रदेशको नीतिनिर्माण र जनताको अपेक्षा सम्बोधनमा कसरी उपयोग गर्छन् भन्नेमा धेरैको चासो छ ।