हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गर्नुभएको छ । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभएको हो ।

बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराउनुभएको छ । उहाँले हालको प्रदेशसभाको अंकगणितअनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पु¥याउन नसकेको बताउनुभयो ।

हाल नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भए पनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा समावेश भइसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई नेपाली कांग्रेस नेतृत्वको सरकारमा समावेश भइ प्रदेशमा देखिएको अन्यौलता अन्त्य गर्न लिखित आग्रह गरेपछि हाम्रो नेपाली पार्टी सरकारमा आएको बताउँदै उहाँले अन्य दललाई सरकारमा सहभागी गराउन आफु प्रयासरत रहेको जानकारी गराउनुभयो ।

बानियाँले पार्टीको आन्तरिक एकता मजबुद हुनुपर्ने धारणा राख्नुभयो । २००७ सालदेखि हालसम्मका आन्दोलनमा कांग्रेसले अन्य पार्टीसँग समेत सहकार्य गरेको स्मरण गराउँदै आफ्नो आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले विगतमा पनि सरकार र पार्टी नेतृत्वमाथि आलोचना हुने गरेकाले नेतृत्वमाथिको आलोचनालाई सामान्यरुपमा लिँदै पार्टी एकतालाई मजबुद बनाउनेतर्फ अघि बढ्न आग्रह गर्नुभयो । पार्टी एकताका लागि आफूले गर्नुपर्ने सहयोग पार्टी नेतृत्वलाई सधैं रहने उहाँको भनाइ थियो ।

उहाँले पार्टीका पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत पार्टी कार्यालयबाट आफ्नो गतिविधि अघि बढाउन र पार्टीभित्र संघर्ष गर्न आग्रह गर्नुभयो । पार्टीभित्रका दुवै पक्षका केही अतिवादी प्रवृत्तिको आलोचना गर्दै उहाँले आफ्नो काम र व्यवहार सकारात्मकढंगले अघि बढाउन सुझाव दिनुभयो ।

कांग्रेसले एमालेको समर्थन गुमाएर सानो दलको समर्थन पाएको अवस्थामा प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदले हस्ताक्षर गर्नुभएको छ । बुधबार १६ सांसदको हस्ताक्षरसहित संसदीय दलको कार्यालय हेटौंडामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

चितवन १ (१) बाट निर्वाचित थपलियाविरुद्ध अविश्वास प्रस्तावको पक्षमा सांसद किरण थापा, प्रेमभक्त महर्जन, रघुनाथ महर्जन, भारती पाठक, आनन्दकुमार श्रेष्ठ, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ, भरत केसी, माइली तामाङ, मायाकुमारी कार्की, रामेश्वर श्रेष्ठ, शकुन्तला श्रेष्ठ र ज्ञानबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । १८ जनाले अविश्वास जनाएको भनेर दाबी गरे पनि पत्रमा १६ सांसदले हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

प्रदेशसभामा नेकपा एमालेका २५ सांसद हुनुहुन्छ । जसमा १६ जना किरण थापा पक्षमा उभिएको देखिन्छ भने बाँकी ९ जना थपलियाको पक्षमा देखिनुभएको छ । एमाले अध्यक्ष केपी शर्माओली र एमाले सचिव महेश बस्नेतनिकटका किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी स्वरुप वर्तमान दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

साउन १८ गते राति मुख्यमन्त्रीकै विषयमा छलफल गर्दागर्दै स्वास्थ्यमा समया देखिएपछि अस्पताल भर्ना हुनुभएका थपलिया एक साता अस्पताल बसाइपछि मंगलबार डिस्चार्ज हुनुभएको थियो । दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानत ७ दिनभित्र संसदीय दलको बैठकमा छलफल गर्नुपर्ने प्रावधान छ ।