चितवन/विद्यार्थी, युवायुवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज जाने प्रचलन त छ“दैछ । तर, जनावरले वनभोज गरेको सुन्दा भने केही आश्चर्य लाग्न सक्छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा भने हात्तीलाई वनभोज गराइएको छ । १५औं विश्व हात्ती दिवसको अवसरमा वनभोज गराइएको हो ।
हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्धेश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा विशेष कार्यक्रम आयोजना गरेको हो । बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गा“जर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईंकटहर, फर्सीलगायत फलफूल–तरकारी दिइएको थियो । वनभोजमा सरकारी र निजी गरी करिब ६० वटा हात्ती सहभागी थिए ।
सौराहाको पर्यटन इतिहास हात्ती सफारीस“ग जोडिन्छ । यही हात्ती सफारीले चितवनमा पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ । हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत् ५८ वटा हात्ती छन् । यीमध्ये सौराहामा मात्र ४५ वटा हात्ती रहेको तथ्यांक छ । नेपालभर सरकारी तथा निजी गरी करिब १ सय ८५ वटा हात्ती छन् । हात्ती पर्यटनको आकर्षणमात्र नभइ वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन र चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन् । तर, निजी हात्तीका लागि निकुञ्जभित्रको घा“स उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीको गुनासो छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीलाई निकुञ्जबाट घा“स उपलब्ध गराउने व्यवस्था गर्न सरकारस“ग माग गरे । उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि एलिफेन्ट सेञ्चुरी निर्माण आवश्यक रहेको उनले बताए । सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बुढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीको भनाइ छ । सेञ्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउन सरकारस“ग माग गरिएको खतिवडाले बताए । चितवन राष्ट्रिय निकुञ्ज प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए । उनका अनुसार हालको मुख्य चुनौती हात्तीको संख्या बढाउनुमात्र नभइ बासस्थानको क्षमताअनुसार दीगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो ।











