हेटौंडा/नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सिप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत्रुपमा सुदृढ बनाउने उद्धेश्यसहित ५ वर्षे समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । समझदारीमार्फत् दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत् उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत् अध्ययन, ज्ञान आदानप्रदान तथा भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्तरुपमा काम गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरुमा सहभागिता बढाउने, व्यावसायिक वातावरणस“ग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने तथा बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ । अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यावसायिक नेतृत्वलाई अतिथि वक्ताका रुपमा विश्वविद्यालयस“ग जोड्ने व्यवस्था पनि गरिएको छ ।
बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने, उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म लागु रहनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष अग्रवालले हालको समयको आवश्यकताअनुरुप विश्वविद्यालयहरुले परम्परागत् शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने–विश्वविद्यालयहरुको मुख्य उद्धेश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो । हालको विश्वमा ज्ञानमात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनस“ग जोड्न सक्ने क्षमता आवश्यक छ । अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीच दुरी घटाउन यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बन्नुपर्ने बताए ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीच सम्बन्धलाई व्यवहारिकरुपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए । प्राडा पौडेलले नेपाल चेम्बर अफ कमर्सस“गको सहकार्यले विद्यार्थीलाई उद्योगस“ग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई व्यवहारिक बनाउने तथा स्टार्टअप र नवप्रवर्तनका नया“ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।











