कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आ.व. २०८२\०८३ को वार्षिक समीक्षा गरेको छ । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा वार्षिक समीक्षा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले कार्यालयलाई चालु आवमा थप व्यवस्थित रुपमा र समयमै कार्यक्रम र योजनाहरु सम्पन्न गर्न निर्देश गरेका छन् । ०८२\०८३ मा भौतिक र वित्तीय प्रगति जति भए चालु आवमा थप बढ्ने गरी कार्यसम्पादन गरिनुपर्नेमा उनले जोड दिए ।

विषयगत शाखाले वर्षभरि गरिने कार्य र योजनालाई भदौ महिनादेखीनै ब्रेक डाउन गरी योजनाबद्धरुपमा कार्य थालनी गर्न अध्यक्ष मुक्तानले आग्रह गरेका छन् । स्वास्थ्य, शिक्षा र पूर्वाधार शाखाले समयमै ठेक्का आह्वान गरि समयमै काम सुरु गरिनुपर्ने बताए । शाखाका मात्रै नभई वडा अन्तरगतका कर्मचारीले पनि सेवा प्रवाहमा कुनै कन्जुसाईँ नगरि कार्य सम्पादन गर्न आग्रह गर्दै समग्र गाउँपालिकाभित्रको सामाजिक र भौतिक विकासमा सबै क्षेत्र सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा शाखा अन्तरगतका प्रमुख, वडातहका सचिवहरुले वार्षिक प्रगति प्रतिवेदनका साथै समस्या र चुनौतिहरु समेत प्रस्तुत गरेका थिए । आव ०८२\०८३ मा गाउँपालिकाले एक करोड ७५ लाख २७ हजार सात सय ९ रुपैयाँ कुल राजस्व संकलन गरेको छ । सबैभन्दा बढी राजस्व वडा नम्बर १० ले संकलन गरेको छ । १० वटा वडा रहेको गाउँपालिकामा वडाबाट कुल ३२ लाख ७९ हजार ६३३ रुपैयाँ संकलन गरिएको राजस्व शाखाले जनाएको छ ।

त्यस्तै, गाउँपालिकाले चालुतर्फ २९ करोड ६ लाख ५४ हजार ३३७ रुपैयाँ खर्च गरेको छ भने पुजीँगततर्फ १६ करोड ७६ लाख ५६ हजार ५४२ रुपैयाँ खर्च गरिएको आर्थिक प्रशासन शाखाको प्रतिवेदनमा उल्लेख छ । क्षेत्रगत खर्चमा आर्थिक विकासमा ५९.५१ प्रतिशत, सामाजिक विकासमा ८४.४९ प्रतिशत, पूर्वाधार विकासमा ७०.९ प्रतिशत, सुशासन तथा अन्तसम्बन्धित क्षेत्रमा ४४.५१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकमा ८३.३३ प्रतिशत खर्च भएको लेखा प्रमुख टिकाराम अधिकारीले बताए ।

गाउँपालिकाले उपभोक्ता समिति मार्फत कुल दुई सय दुई वटा योजना मध्ये एक सय ८७ सम्झौता भई भुक्तानी भएको योजना शाखा प्रमुख दीपेन्द्र अधिकारीले बताए । जस मध्ये सबै भन्दा बढी योजना वडा १० मा रहेको उनले बताए । उपभोक्ता समिति मार्फत गाउँपालिकाभित्र सडकको नयाँ ट्रयाक खुला करिब साढे ३१ किलोमिटर गरेको पूर्वाधार विकास शाखा प्रमुख अनिल प्रसाद जोशीले बताए । उनका अनुसार पुरानो ट्रयाक सुधार ८९ किलोमिटर, पक्की नाला निर्माण छ सय ४ मिटर, स्ल्याब ढलान निर्माण ७३० मिटर, मेसनरी पर्खाल निर्माण ८७५ घनमिटर, ग्याविन जाली ७१६ मिटर, ग्राभेल करिब २ किलोमिटर गरिएको छ ।

गाउँपालिकामा कुल साक्षरतादर ६७.८ प्रतिशत रहेको छ । जसमा पुरुष ७३.३ प्रतिशत र महिलाको साक्षरतादर ६२.२ प्रतिशत रहेको छ । शिक्षामा क्रमिक सुधार हुँदै गइरहेको अवस्थामा शैक्षिक सूचकहरु भने घट्दो अवस्था रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । अभिभावकमा चेतनाको कमीले विद्यालयमा विद्यार्थीको उपस्थितिदर कम देखिएको बताए । स्वास्थ्यतर्फ करिब २२ हजार जनसंख्यालाई लक्षित गरि सेवा प्रवाह गरिएको छ । शाखाले आव ०८२\०८३मा ८८ प्रतिशत कार्यक्रम खर्च गरेको छ । महिला तथा बालबालिका शाखातर्फ प्रदेशतर्फको कार्यक्रममा ४६ प्रतिशत र गाउँपालिकातर्फ ८८ प्रतिशत खर्च रहेको जनाइएको छ । सूचना प्रविधितर्फ एलजीपासमा गाउँपालिकाले ५७.४१ प्रतिशत प्रगति गरेको छ । गाउँपालिकामा एक वर्षमा ७ सय २० जनाको जन्म र एक सय ९३ जनाको मृत्यु भएको छ । बसाई सरेर जानेको संख्या भने २ सय ११ जना रहेका छन् । गाउँपालिकाले किसान लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । किसान समूह र फर्महरुले कृषि शाखाबाट आवश्यक कार्यक्रमहरु लिएर सञ्चालन गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री, वडा ३ का वडाध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदासकुमार ब्लोन, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोनलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकामा कार्यरत शाखा प्रमुख, वडा सचिव, सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।