चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले उद्योग सञ्चालन गरी डेरीजन्य सामग्री आफैंले बिक्री गर्न थालेको छ । किसानको दूध खरिद गरेका उद्योगले पैसा दिन ढिला गर्ने, गुणस्तरीय सामग्री उपभोक्ताले पाउन मुस्किल भएको गुनासो आउन थालेपछि संघ आफैंले उद्योग स्थापना गरी उत्पादित डेरीजन्य सामग्री मार्टमार्फत् प्रत्यक्षरुपमा उपभोक्तालाई बिक्री वितरण गर्न थालेको हो ।
संघले शुद्ध तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्धेश्यले बिक्री वितरण सुरु गरेको संघ अध्यक्ष किशोर बगालेले जानकारी दिए । पूर्वी चितवनको रत्ननगर नगरपालिका—५ मा सञ्चालित उद्योगबाट उत्पादन हुने दूध, दही, पनिर, खुवा, पुष्टकारी, बटर, चिज, गुँदपाक लगायत सामग्री भरतपुरका तीन स्थानमा सञ्चालनमा रहेका मार्टमार्फत् बिक्री हुँदै आएको छ । संघ अध्यक्ष बगालेले बजारमा भारतीय तथा अन्य जिल्लाबाट आउने केही डेरीजन्य उत्पादनको गुणस्तरबारे उपभोक्ताले प्रश्न उठाएपछि सहकारी आफैंले उत्पादन गरी बिक्री गर्ने अवधारणा अघि बढाएको बताए । ‘हामीले आफ्नै उत्पादन र डेरीजन्य सामग्रीमात्र बिक्री गर्दै आएका छौं,’ उनले भने ।
हाल भरतपुर महानगरपालिका—१० स्थित दुरसञ्चार रोड, नयाँ मेडिकल कलेजपछाडि रहेको ओमशान्ति चोक तथा नारायणगढको बेलचोकमा मार्ट सञ्चालनमा छन् । संघले हाल रत्ननगरमा भाडाको भवनबाट उद्योग सञ्चालन गरिरहेको भए पनि भरतपुर महानगरपालिका—१५, फूलबारीमा आफ्नै जग्गामा आधुनिक उद्योग भवन निर्माणको काम अघि बढाइरहेको अध्यक्ष बगालेले जानकारी दिए । संघले दुग्ध उत्पादन वृद्धि गर्न किसानकेन्द्रित विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । हेफर परियोजनाको सहयोगले संघले गाईभैंसीमा देखिने बाँझोपन समस्या न्यूनीकरणका लागि गोठसुधार, पशु स्वास्थ्य सेवा, चिकित्सकीय परामर्श तथा प्राविधिक सहयोग प्रदान गरि“दै आएको अध्यक्ष बगालेले बताए ।
बहुवर्षीय घाँसका बिरुवा वितरण, होलिस्टिन साढे उपलब्ध गराउने, कृत्रिम गर्भाधानसम्बन्धि तालिम सञ्चालन गर्नेलगायत कार्यक्रममार्फत् किसानलाई सहयोग पु¥याइएको छ । अध्यक्ष बगालेका अनुसार जिल्लामा १ सय १५ वटा दग्ध उत्पादक सहकारी संस्था सक्रिय छन् । ती संस्थामार्फत् दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादन भएको दूध काठमाडौं, पोखरालगायत प्रमुख बजारमा बिक्री वितरण हुँदै आएको छ । चितवनकै बजारमा पनि उल्लेख्य मात्रामा खपत हुने गरेको छ । काठमाडौं पठाइएको दूधको भुक्तानी समयमै प्राप्त नहुँदा किसान र सहकारी दुवै प्रभावित बनेका छन् । बिक्री गरेको दूधको रकम लामो समयसम्म नपाउने समस्या बढेपछि संघले मूल्य अभिवृद्धि हुने डेरीजन्य सामग्री उत्पादन गरी आफैं बजार व्यवस्थापन गर्ने रणनीति अवलम्बन गरेको जनाएको
छ ।














