काठमाडौं÷नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।

सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार केही मिडियामा आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । उनले भनिन्—यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र हालका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धिलगायतले जनजीवनमा सहज होस् भन्ने उद्धेश्यले गत चैत २२ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय विहान ९ देखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।