हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका विभिन्न बस्तीहरुमा बाँदरको आतंक बढ्दै जाँदा स्थानीय किसानहरु चिन्तित बनेका छन् । स्थानीय किसान देवीलाल थिङका अनुसार २ सयदेखि ५ सयको संख्यामा आउने बाँदरको हुलले मकैका बिरुवा तथा चिचिला मकै व्यापकरुपमा नष्ट गरिरहेका छन् ।
छापडाँडा, पोखी, मरेङकोट, सुदेलगायत क्षेत्रमा बाँदरले ठूलो मात्रामा कृषिबालीमा क्षति पु¥याएको गुनासो छ । किसानहरुले समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिसँग पटकपटक गुनासो गरे पनि प्रभावकारी पहल हुन नसकेको बताएका छन् । थिङका अनुसार जनप्रतिनिधिहरुले कृषि शाखासँग समन्वय गरी बाँदर नियन्त्रणको प्रयास गर्ने आश्वासन दिए पनि लामो समय बितिसक्दा समेत सम्बन्धित निकायबाट ठोस पहल हुन सकेको छैन । बाँदरआतंकका कारण धेरै किसानको वर्षभरिको मेहनत खेर गएको उहाँको भनाइ छ ।

थिङले समस्या गम्भीर बन्दै गएपछि वडा कार्यालय र गाउँपालिकामा पटकपटक फोन सम्पर्क गर्न खोज्दासमेत कतिपय अवस्थामा फोन नउठाइएको गुनासो गर्नुभयो । उहाँले सम्बन्धित निकायले तत्काल ध्यान दिएर बाँदर नियन्त्रण तथा किसानको क्षति न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभएको छ । स्थानीय किसानहरुको भनाइअनुसार समयमै समस्या समाधान नभए आगामी दिनमा कृषि उत्पादनमा थप असर पर्ने र किसानको जीविकोपार्जनमा संकट आउन सक्ने देखिएको छ ।














