हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१० वडा समितिको कार्यालय र तरंग सांस्कृतिक परिषद्को सहकार्यमा हेटौंडा–१० भित्र रहेका टोल विकास समितिका ३१ जना महिला–पुरुष सदस्यका लागि कौसी खेती तथा उद्यमशीलता तालिम प्रदान गरिएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा दोर्जे तामाङले बढ्दो जलवायु परिवर्तनको चुनौती, सहर केन्द्रित बढ्दो जनसंख्या, रोजगारीको समस्या, घट्दो कृषि उत्पादन तथा विषादीयुक्त वस्तुको उपभोगका कारण उत्पन्न हुने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न कौसी खेती उपयोगी हुने बताएका छन् । उनले सहरमा उपलब्ध सीमित स्थानको उच्चतम सदुपयोग गर्दै कौसी खेतीमार्फत परिवारको पोषणमा समेत योगदान पुग्ने धारणा व्यक्त गरे।

समापन समारोहका अध्यक्ष तथा परिषद्का कोषाध्यक्ष ईन्द्रप्रसाद नेपालले स्थानीय सरकारको सहयोगमा सञ्चालन गरिएको तालिम उपलब्धिमूलक भएको बताए । तालिमका सहभागीहरूको स्वमूल्यांकनको नतिजाबाट कार्यक्रम प्रभावकारी रहेको स्पष्ट भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको योजनामा समेत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न वडा कार्यालयलाई आग्रह गरे । साथै कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।

तालिमका संयोजक प्रद्युम्न उपाध्यायले आधुनिकिकरणसँगै प्रविधिप्रति अत्यधिक लगाव भएका बालबालिका, परिवार र समाजबीच सामाजिकरण तथा प्रकृतिप्रेम अभिवृद्धिका लागि पनि कौसी खेती महत्वपूर्ण रहेको बताए । उनले सहभागीहरूसँगको छलफलमा कौसी खेतीले परिवार र समाजलाई प्रकृतिसँग जोड्ने भूमिका खेल्ने धारणा राखे ।

कार्यक्रममा वडा अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य ईश्वर मैनाली तथा परिषद्का ईन्द्र नेपालले सहभागीहरुलाई बिउ, मल र गमला हस्तान्तरण गरेका थिए । उनीहरूले वडामा कौसी खेती उदाहरणीय कार्यक्रमका रूपमा विकास हुने विश्वास व्यक्त गरे।

तालिमकी सहजकर्ता राधा कोइरालाले कौसी खेतीका लागि उपयुक्त तरकारी तथा फलफूलका प्रकार, मल, बिउ, सिजन, जैविक किटनाशक विधि तथा ग्राफ्टिङ सम्बन्धी प्राविधिक विषयमा सहजीकरण गरेकी थिइन् । सहजीकरणका लागि परिषद्का ईन्द्रप्रसाद नेपालले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तालिमको परिणाम र कौसी खेतीको अवस्थाबारे वडा समितिको कार्यालय र परिषद्को संयुक्त अनुगमन गरिने जानकारी समेत सहभागीहरुलाई गराइएको थियो । साथै कौसी खेतीलाई उद्यमशीलताको रुपमा प्रवर्द्धन गर्न सके रोजगारी सिर्जना हुन सक्ने धारणा व्यक्त गरिएको थियो ।

कौसी खेतीमा उद्यमशीलताको सम्भावनाबारे सहजीकरण गर्ने केदार राना मगर तथा व्यवस्थापनमा प्रत्यक्ष सहयोग गर्ने सुरेश लामा लगायत सम्पूर्ण सहभागीप्रति परिषद्को तर्फबाट धन्यवाद व्यक्त गर्दै तालिम समापन गरिएको थियो ।