हेटौँडा/मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले कक्षा–११ मा शिक्षाशास्त्र संकायमा निशूल्क पठनपाठनको कार्यक्रमलाई निरन्तरता दिएको छ । आज सोमबार पत्रकार सम्मेलन गरेर यस वर्ष पनि शिक्षाशास्त्र संकायमा कक्षा–११ मा निशूल्क कार्यक्रम निरन्तर जारी राखिएको जनाएको हो ।

यस वर्ष पनि ३० जना विद्यार्थीलाई निशूल्क पढाउने म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिनुभयो । म्यानेजमेन्टले आगामी वर्षदेखि स्नातक तहमा पनि शिक्षाशास्त्र संकायमा निशूल्क कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टको शिक्षाशास्त्र संकायकी संयोजक रमिता दर्लामीले शिक्षाशास्त्रको पठनपाठन प्रभावकारी र लक्ष्यअनुसार नै भइरहेको जानकारी दिनुभयो । नवोदय शिशु सदनलाई ल्याव स्कूलको रुपमा प्रयोग गरेको निशूल्क पठनपाठन कार्यक्रमसँगै म्यानेजमेन्टले विद्यार्थीलाई नवोदयको शिक्षक तालिममा पनि सहभागी गराउने गरेको छ । जिल्लाबाहिर हुने शिक्षासम्बन्धी कार्यशाला गोष्ठी र सम्मेलनमा पनि विद्यार्थीको सहभागिता रहने गरेको दर्लामीले जानकारी दिनुभयो । गत वर्ष कक्षा–११ मा भर्ना भएर अध्ययनरत गरेका विद्यार्थीलाई आवश्यकता अनुसार भाषा, प्रस्तुती जस्ता क्षमता विकासका अन्य क्रियाकलाप गरिएको बताइएको छ ।

दक्ष शिक्षक उत्पादन गर्ने गरी गत वर्षबाट म्यानेजमेन्टले कक्षा–११ मा निशूल्क कार्यक्रम सञ्चालन गरेको हो । गत वर्ष अंग्रेजी र गणित विषयमा ९/९ जना र नेपालीमा ४ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिएपछि गत वर्षबाट म्यानेजमेन्टले नवोदय शिशु सदन, नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा नेपाली, गणित र अंग्रेजी मूल विषय अध्ययन गर्ने १०/१० जना गरी कुल ३० जनालाई निशूल्क पठनपाठनको अवसर मिलाएको थियो । यद्यपि विद्यार्थीको उपस्थिति भने कोटा भन्दा कम भएको थियो ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशीले निशूल्क शिक्षा कार्यक्रमबाट सन्तुष्ट रहेको उल्लेख गर्नुहुँदै गत वर्ष ११ कक्षामा भर्ना भएका विद्यार्थीले कक्षा–१२ को शिक्षा पूरा गरेपछि थप सुधार र नयाँ रणनीति बनाउने बताउनुभयो । आजको समयअनुकुल नयाँ शैक्षिक शैलीको अभ्यास गर्न नयाँ शैलीमै शिक्षक तयार गर्ने प्रयासस्वरुप निशूल्क शिक्षाको कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । गत वर्ष ११ कक्षामा भर्ना भई अध्ययनरत अक्शा कार्कीले पढाई सुरु गरेको ३ महिनामै पूर्वप्राथमिक तहको कक्षा सम्हाल्न सक्ने आत्मविश्वास र सीप आर्जन गरेको बताउनुभयो । परम्परागत शैलीमा नभई विद्यार्थीबीचमै अभ्यास, खोज र समस्या समाधानको शैलीमा कक्षा सञ्चालन गर्न सक्षम भएको कार्कीको भनाइ थियो ।