हेटौँडा/हेटौँडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ देखि हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको शिक्षा विकास महाशाखाले शुक्रबार जारी गरेको परिपत्रमार्फत उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय (मन्टेश्वरीसमेत) लाई उक्त निर्णय पालना गर्दै बाँकी दिनमा नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

परिपत्रअनुसार सोमबारदेखि शुक्रबारसम्म पूर्ण समय पठनपाठनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्नुपर्नेछ भने वर्षे तथा स्थानीय बिदा ५० दिनबाट घटाएर ३० दिनमा सीमित गर्नुपर्नेछ । साथै, साप्ताहिक तथा वार्षिक कार्यघण्टा मिल्ने गरी शैक्षिक क्यालेण्डर तयार गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आन्तरिक मूल्याङ्कन सरह पठनपाठन भइरहेकै दिन सञ्चालन गर्नुपर्ने तथा वार्षिक परीक्षाका लागि अन्तिम १२ दिन छुट्याउनुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ ।

यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ को निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि सातामा दुई दिन बिदा दिने व्यवस्था गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो निर्णय कार्यान्वयनका लागि विद्यालय तहमा समय व्यवस्थापनसम्बन्धी कार्यविधि तथा निर्देशन जारी गरेका थिए । त्यही आधारमा स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रभित्रका विद्यालयलाई कार्यान्वयनका लागि परिपत्र जारी गर्न थालेका हुन् ।

यसैबीच, केही निजी विद्यालयहरूले सार्वजनिक बिदामा समेत पठनपाठन सञ्चालन गरेको गुनासो आएका कारण स्पष्ट निर्देशन आवश्यक भएको बताइएको छ । उपमहानगरपालिकाले शुक्रबारका दिन समुदाय तथा पारिवारिक क्रियाकलाप, सूचना प्रविधिमा आधारित परियोजना र प्रयोगात्मक कार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ । यस्ता क्रियाकलापलाई समेत वार्षिक कार्यघण्टामा गणना गरी मूल्याङ्कन गर्न सकिने व्यवस्था गरिएको छ ।