हेटौंडा/भीमफेदी बजार बृहत खानेपानी समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताहरूले कडा आपत्ति जनाएका छन्। जेठ २ गते सम्पन्न सार्वजनिक सुनुवाइमा समितिले प्रस्तुत गरेको प्रतिवेदन र जवाफदेहिताप्रति उपभोक्ताहरू असहमत भएपछि कार्यक्रममा ठूलो होहल्ला भएको थियो। विवाद चर्किएपछि ६ नं. वडा अध्यक्ष सोम बहादुर लामाले अधिकार प्रत्यायोजन गर्दै आगामी २०८३ जेठ २८ गते बिहीबार समितिको साधारण भेला डाक्न निर्देशन दिनुभएको छ।
साथै, उपभोक्ताहरूले २०७८ सालदेखिको सम्पूर्ण आय-व्ययको कानुनी रूपमा मान्यता प्राप्त लेखापरीक्षण (अडिट) गरी साधारण सभामा यथार्थ विवरण पेस गर्न जोडदार माग गरेका छन्।
प्रमोद लाल श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सानु थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पम्फा योञ्जनले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा ६ नं वडा अध्यक्ष सोम बहादुर लामा र विशेष अतिथिका रूपमा ५ नं वडा अध्यक्ष जहार सिं लामा उपस्थित हुनुहुन्थ्यो।
सार्वजनिक सुनुवाइमा उपभोक्ताका तर्फबाट सुरेन्द्र थिकेले कार्य प्रश्न माग पत्र प्रस्तुत गर्नुभएको थियो। सो माग पत्रका सम्बन्धमा अध्यक्ष सानु थापाले पेस गर्नुभएको जवाफ पारदर्शी र चित्तबुझ्दो नभएको भन्दै उपभोक्ताहरू आक्रोशित बनेका थिए। स्थिति तनावपूर्ण बनेपछि वडा अध्यक्ष लामाले हस्तक्षेप गर्दै तत्काल लेखापरीक्षण गराई साधारण सभा राख्न समितिलाई दबाब दिनुभएको हो। सार्वजनिक सुनुवाइमा टिपोटका आधारमा प्रस्तुत गरिएका आर्थिक तथ्याङ्कहरू नेपाल सरकारबाट मान्यता प्राप्त लेखापरीक्षक (अडिटर) बाट प्रमाणित नभएकाले उपभोक्ताहरूले पूर्ण रूपमा अस्वीकार गरिदिएका छन्। प्रस्तुत मुख्य विवरणहरू यस प्रकार छन्:
दातृ निकायबाट प्राप्त रकम: रु. ८,५७,४९७/-
कुल खर्च: रु. १८,८५,६७०/-
(यसमा रु. ८,७०,६५५/- इस्टिमेट भन्दा बाहिरको काममा खर्च भएको र थप योजनाका लागि रु. २,७२,१०३/- प्राप्त भएको देखाइएको)।
रिजर्भ ट्याङ्की निर्माण (गाउँपालिका अनुदान): गाउँपालिकाबाट प्राप्त रु. १८,८५,६७०/- योजनामा खर्च भएको तर अन्य भुक्तानीहरू अझै बाँकी रहेको।जडान शुल्कबापत रु. १०,९९,७३१/- र २०८२ चैतसम्मको मासिक शुल्कबापत रु. १४,६०,९५५/- सङ्कलन।
बैंक मौज्दात: रु. ४३,३४१/- मात्र।
नगद मौज्दात रु. ५,९८,९८५/- देखाइएको तर सङ्कलनबाट भएको खर्च विवरण पेस हुन बाँकी रहेको र आधिकारिक अडिट नभएकाले उपभोक्ताद्वारा अस्विकृत।
योजना सञ्चालनका लागि भुक्तानी गर्नुपर्ने दायित्व रु. ९,५४,४७५/- बाँकी छ भने उपभोक्ताहरूबाट जडान तथा मासिक शुल्कबापत रु. १३,००,९५८/- उठ्न बाँकी देखिन्छ।
उपभोक्ताहरूको तीव्र दबाब र वडा कार्यालयको कडा निर्देशनपछि अब खानेपानी समितिले विगत ५ वर्ष (२०७८ देखि) को वित्तीय हरहिसाब पारदर्शी रूपमा सरकारी मान्यता प्राप्त अडिटरबाट जँचाउनु पर्नेछ। जेठ २८ गते हुने साधारण भेलाले भीमफेदी खानेपानी समितिको आर्थिक हिनामिनाको यथार्थ बाहिर ल्याउने र नयाँ निकास तय गर्ने भएकाले स्थानीयवासीले यसलाई चासोका साथ हेरेका छन्।














