हेटौंडा । मकवानपुरको हेटौंडामा मानव बेचबिखन तथा विद्युतीय (साइबर) अपराधविरुद्ध दुई दिने विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
शनिबार माइती नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालयको सहकार्यमा “हाम्रो आवाज; मानव बेचबिखनमुक्त समाज” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका सचिव जगन्नाथ सुवेदीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनी व्यवस्था र यसको वर्तमान स्वरूपबारे प्रस्तुतीकरण दिएका थिए। उनले डर, धम्की, छलकपट, शक्तिको दुरुपयोग वा जोखिमपूर्ण अवस्थाको फाइदा उठाएर व्यक्तिलाई शोषणका लागि प्रयोग गर्नु मानव बेचबिखन हुने बताए।
उनले वेश्यावृत्ति, दासता, बन्धुवा मजदुरी तथा अन्य शोषणका उद्देश्यले व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा लैजानु, आश्रय दिनु वा त्यस्तो कार्यमा सहयोग गर्नु पनि बेचबिखनअन्तर्गत पर्ने जानकारी दिए।
सुवेदीले राष्ट्रिय मानव अधिकार आयोगको सन् २०१९ को अनुमानअनुसार करिब १५ लाख नेपाली मानव बेचबिखनको जोखिममा रहेको उल्लेख गर्दै ११ देखि २५ वर्ष उमेर समूहका महिला तथा किशोरी उच्च जोखिममा रहेको बताए। नेपाल पछिल्ला वर्षहरूमा स्रोत मुलुकसँगै गन्तव्य र ट्रान्जिट मुलुकका रूपमा समेत विकसित हुँदै गएको तथ्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय माध्यमबाट गरिने अपराधलाई साइबर अपराध मानिने र यस्तो कसुरमा ५ वर्षसम्म कैद तथा १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको जानकारी दिइयो।
त्यस्तै, सिविन नेपालका प्रबन्धक झविन्द्र ज्ञावलीले बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट कसरी जोगाउने तथा सरोकारवालाको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए। उनले अनलाइन बाल यौन शोषणका विभिन्न स्वरूपबारे समेत जानकारी गराए।
माइती नेपाल मकवानपुरकी जिल्ला संयोजक माया लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का सचिव आमोदप्रसाद मैनाली, अधिवक्ता जगन्नाथ सुवेदी, माइती नेपालकी सुपरभाइजर मन लामा, सहजकर्ता सरिता देवकोटा तामाङलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा वडा नं. २ अन्तर्गतका बालजागृति र सिद्धार्थ माध्यमिक विद्यालयका करिब ६० जना विद्यार्थी सहभागी थिए।
कार्यक्रममा वडा सचिव मैनालीले वडा कार्यालयबाट प्रवाह हुने सेवाबारे जानकारी गराएका थिए। आइतबार पनि अन्य विद्यार्थीको सहभागितामा कार्यक्रम सञ्चालन गरिने माइती नेपालकी संयोजक माया लामाले जानकारी दिइन्।













