मकवानपुर । हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस शनिबार नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै योग हाम्रो गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहार भएको बताएका छन् । ‘योग आज विश्वभर स्वीकारिएको जीवनपद्धती बन्न पुगेको छ । यिनै मूल्य र परम्पराको सम्मानस्वरूप, हरेक वर्ष जुन २१ तारिख अन्तराष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।’ प्रमुख देवकोटाले भनेका छन्, ‘पुर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात् गर्यो । आज त्यसको चमत्कारिक प्रभावलाई पश्चिमी जगत लगायत समग्र बिश्चले अबलम्बन गरेका छन् ।’
उनले योग केवल व्यायाम नभई यो एक समग्र जीवनदर्शन भनेका छन् । योगले आत्मानुशासन र सहअस्तित्वको बाटो सिकाउँने भन्दै आजको व्यस्त जीवनशैलीमा मानिस दिनप्रतिदिन तनाव, चिन्ता र रोगहरूले ग्रस्त परिरहेको अवस्थामा योग नै त्यो अमूल्य साधन भएको उल्लेख गरेका छन् । उनले शान्त, निरोगी रसमृद्ध बनाउँन योग महत्वपूर्ण हुने भएकाले दैनिक केही समय योगाभ्यासमा समर्पित हुन आह्वान गरेका छन् ।