
काठमाडौँ । बागमती प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।
शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको संक्षिप्त बुलेटिनमा देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना उल्लेख गरिएको छ।
दिउँसो कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ।
राति कोसी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ।
मनसुनका कारण कोसी प्रदेशका एक-दुई स्थानमा गएराति पनि भारी वर्षा भइसकेको मौसम महाशाखाले जनाएको छ।
कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाइएको छ।