नारायणहिटी दरबार

काठमाडौँ । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार वरिपरि निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको आदेशमा केशरमहल चोकदेखि दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधाज्ञा लागू गरिएको हो। महेन्द्र शालिक हुँदै जयनेपाल मोडसम्म पनि आदेश लागू हुनेछ। राजावादीहरू आन्दोलनमा सक्रिय भएपछि प्रशासनले यस्तो कदम चालेको हो।

पछिल्लो समय उनीहरूको आन्दोलन काठमाडौँमै केन्द्रित छ। केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पुगेका थिए। उनी फेरि जेठ १९ गते त्यहाँ जाने तयारीमा छन्। त्यसअगावै प्रशासनले सावधानी अपनाउँदै निषेधित क्षेत्र घोषणा गरेको हो।

शनिबार राजावादीहरूले नारायणहिटीतर्फ जाने तयारी गरेका छन्। राप्रपा नेपाल अध्यक्ष कमल थापाले आन्दोलन जारी राख्ने बताएका छन्।

उनले भ्रष्ट व्यवस्था र शासकविरुद्ध तथा हिन्दूराष्ट्र र राजसंस्थाका लागि संघर्ष भइरहेको जनाएका छन्। थापाले दरबारमार्ग, महेन्द्र शालिकबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन्। उनी सहभागीहरूलाई व्यापक उपस्थितिका लागि आग्रह गरेका छन्।