फाइल तस्बिर।

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल अन्य राजनीतिक दलहरुसँग एकता सम्भव नरहेको बताएका छन् । उनले विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको स्पष्ट पारे।

गणतन्त्र दिवसको अवसरमा विहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एकताभन्दा सहकार्यलाई प्राथमिकता दिने संकेत गरे। उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति हेर्दा तत्काल अन्य दलहरुसँग मिलेर जाने अवस्था छैन। तर, विचार मिल्ने दलहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको उनले बताए।

उनले केही दलहरुसँग मोर्चा बनाएर अघि बढ्न पनि सम्भावना रहेको धारणा राखे । समाजवादी मोर्चा गठन गरे पनि त्यो अपेक्षित रूपमा सक्रिय हुन नसकेको स्वीकार गरे। उनले मोर्चाको निष्क्रियतामा आफ्नै दलको भूमिका कमजोर रहेको कुरा पनि उल्लेख गरे। सक्रिय भूमिका नलिएर पछाडि नपर्न सबैलाई सचेत गराए ।

नेपालले अन्य पार्टीहरुप्रति पनि टिप्पणी गरे । उनले पूँजीवादी सोच भएका र दृष्टिकोण नभएका दलहरुले देशलाई रुपान्तरण गर्न नसक्ने दाबी गरे । त्यसकारण कम्युनिष्ट धार नै देशका लागि उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरे।