
मकवानपुर । बागमती प्रदेश सरकारले मानव विकास सूचकांक कमजोर र आयस्रोत न्यून स्थानीय तहमा वित्तीय हस्तान्तरणलाई प्राथमिकता दिने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत सरकारले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपद् बिमा मार्फत जोखिम हस्तान्तरणको योजना सार्वजनिक गरे। भौतिक पूर्वाधारको गुणस्तर मापनका लागि प्रदेशस्तरीय प्रयोगशाला स्थापना गरिनेछ।
यस वर्षको नीति कार्यक्रममा कृषि, सञ्चार, रोजगारी लगायत विविध क्षेत्र समेटिएको छ। सञ्चार क्षेत्रको विकासका लागि कानुनी सुधार र कार्यक्रमगत तयारी गरिनेछ भने पत्रकारहरूको सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ।
प्रदेश प्रहरी समायोजनका लागि संघीय सरकारसँग समन्वयमा छलफल गरिनेछ। साथै, लगानी सम्मेलन आयोजना गरी आर्थिक गतिविधि प्रवर्द्धन गर्ने नीतिगत तयारी अगाडि बढाइएको छ। नीति तथा कार्यक्रम ११६ बुँदामा आधारित छ, जसमा समुन्नत समाज निर्माण र सूचना प्रवाहलाई प्राथमिकतामा राखिएको छ।