
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । सरकारले मंगलबार पौडेललाई राष्ट्रबैंकको १८ औँ गभर्नरका रुपमा नियुक्त हो ।
अर्थ मन्त्रालयमा मंगलबार बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो।
मंगलबार पनि दुई नेताले छलफल गरेका थिए। सोसँगै समितिको बैठक बसेको थियो। नाम सिफारिस भएसँगै बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिको विषय टुंगो लगाएको हो ।
राष्ट्र बैंक डेढ महिनापछि गभर्नर पद रिक्त रहेको थियो । गत चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि गभर्नर पद रिक्त थियो ।