काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने भएकी छिन् । भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन जान लागेको बताइएको छ ।

स्रोतका अनुसार भण्डारीको भ्रमण टोलीमा नेकपा (एमाले)का केही नेताहरू पनि रहनेछन् । भण्डारीले बेइजिङ बसाईका क्रममा चिनियाँ उच्च तहका नेताहरूसँग भेट गर्ने तय भएको बुझिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङँसँग भेटवार्ता हुने वा नहुने भन्नेमा टुंगो लागेको छैन ।

भण्डारीको गत वर्ष पनि चीन भ्रमणमा जाने तयारी भएपनि अन्तिम समयमा स्थगित भएको थियो । चीन नेपालमा कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा रहेको छ । भण्डारीको भ्रमणलाई वामपन्थी एकता र सक्रिय राजनीतिमा फर्कन लागेको संकेतका रुपमा रहेको भन्दै अर्थपूर्ण रुपमा लिइएको छ ।