काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’लाई सफल र अर्थपूर्ण ठहर गर्दै समीक्षा गरेको छ।
अभियानमार्फत प्राप्त सुझावलाई पार्टी नीतिमा समेट्ने र विकास निर्माणका मागसहित प्राप्त ज्ञापनपत्रलाई दस्तावेज बनाएर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले खबरदारीलाई जानकारी दिए। अभियानका क्रममा २० जिल्लाका स्थानीयवासीले माओवादीलाई ज्ञापनपत्र तथा मागपत्र बुझाएका थिए।
बैठकले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्गमा केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सुरु गर्ने निर्णय पनि गरेको छ।
साथै, सरकारको आलोचना नगर्ने र सत्तारुढ गठबन्धन भित्र सरकार बनाउने वा ढाल्ने खेलमा सहभागी नहुने विषयमा बैठकमा छलफल भएको पौडेलले बताए।
माओवादीले फागुन १२ देखि ४५ दिनसम्म तराई–मधेशका २० जिल्लाको भ्रमण गर्दै स्थानीयसँग प्रत्यक्ष संवाद गरेको थियो। सो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।



















  
                                        खबरदारी                                    


