काठमाडौँ । आइतबार विहान भएको बर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक अवरुद्ध हुन पुगेको छ ।

बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन मार्ग बगाएको मकवानपुर प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बिहान ६ः१५ बजेतिर डाइभर्सन भताभुंग भएपछि सो सडकखण्डमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको छ । घटनास्थलमा सडक खुलाउन अहिले प्रहरी खटिएको छ । डाइभर्सन नै बगाएपछि सडक खुलाउन समस्या भएको हो ।
सडक अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।