काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण (एसईई) कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षाका विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेकाले निर्धारित मितिमै परीक्षा हुने बताएको हो । परीक्षाका विषयमा अनधिकृत रूपमा सामाजिक सञ्जालमा आफ्नो लोगो प्रयोग गरी भ्रामक प्रचार भइरहेकामा बोर्डको आपत्ति छ ।
यसअघि बोर्डले वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने कार्यक्रम तय गरेको थियो । तर, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण मिति परिवर्तन गरिएको हो । अहिले महासंघसँग सहमति भइसकेकाले परीक्षा अब तोकिएका केन्द्रहरूमा निर्धारित मितिअनुसार सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले कुनै आधिकारिक फेसबुक पेज नरहेको र सबै सूचना आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट पारेको छ।
परीक्षा मर्यादित रूपमा सम्पन्न गर्नका लागि सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवाला सबैलाई सहयोगको लागि बोर्डले अपिल समेत गरेको छ ।










  
                                        खबरदारी                                    


