
काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकका विभिन्न माग सम्बोधन गर्न सरकार तयार भएको छ। बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघबीच भएको यो सहमति मन्त्रिपरिषदबाट पारित भएसँगै कार्यान्वयनमा आएको छ। सात बुँदाको आधारमा भएको सहमतिका लागि मन्त्री पन्तले पूर्वशिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए।
सहमतिका मुख्य बुँदाहरूमा शिक्षक तथा विद्यालय कर्मचारीका लागि निजामती अस्पतालमा सहुलियतपूर्ण स्वास्थ्य उपचार, अस्थायी शिक्षकको सञ्चित बिरामी बिदा र अवकाशमा एकमुष्ट रकम, प्रारम्भिक बाल विकास सहजकर्ता र कर्मचारीको पारिश्रमिक व्यवस्था, आगामी आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकका लागि निजामती सरह ग्रेड, दुर्गम भत्ता उपलब्ध गराउँने छन् ।
यस्तै, निजी स्रोतका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता, शिक्षकलाई मर्यादाक्रममा समावेश, आन्दोलनमा घाइतेको निःशुल्क उपचार र निम्न माध्यमिक प्रथम श्रेणी शिक्षकको तलब माध्यमिक द्वितीय श्रेणी सरह कायम गर्ने व्यवस्था समेटिएका छन् ।
यो सहमतिले शिक्षकको सुविधा,सम्मान र सामाजिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।