काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजिनामा बुझाएकी हुन् । उनले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पदबाट राजिनामा दिएको बालुवाटार स्रोतको भनाई छ ।

शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरू आन्दोलित भइरहेका बेला दबाबमा परेकाले राजिनामा दिएको बुझिएको छ ।
शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको भूमिकामा थिइन् ।

तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री समेत रहेका उनका श्रीमान् रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपप्राध्यापकबाट राजीनामा दिएर राजनीतिमा लागेकी थिइन् ।

भट्टराई २०७६ मा भएको उपनिर्वाचनमा कास्कीबाट निर्वाचित भएकी थिइन् भने २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएकी हुन् ।
शिक्षकहरुको आन्दोलनलाई समाधानका लागि उनले विभिन्न ७ बुँदे प्रस्ताव समेत तयार पारेकी थिइन् ।