
काठमाडौँ । सोमबारबाट नयाँ साल सुरु भएको छ । विक्रम संवत् २०८२ साल वैशाख १ गते देश तथा विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास नयाँ वर्ष मनाउँदैछन् ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि आजको दिनलाई लिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत हो ।
हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता-असफलता समीक्षा गर्दै आजका दिनबाट नयाँ योजनाका लागि संकल्प लिने गर्दछन् ।
चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको समितिको भनाई छ ।