काठमाडौँ । संघीयता खारेजी आन्दोलनमा होमिएको राष्ट्रिय जनमोर्चाले आफ्नो आन्दोलनको समय दुई दिन छोट्याएको छ ।

आइतबार २४ गते सुरु भई साताव्यापी रुपमा ३० गतेसम्म संघीय राजधानी केन्द्रित जारी रहने भनिएको आन्दोलन पार्टीले २८ गतेसम्म मात्र गर्ने भएको सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

चित्र बहादुर केसी नेतृत्वको पार्टी सुरु देखि नै संघीयताको विपक्षमा छ । आन्दोलनको समयावधि घटाउनुको कारण भने काठमाडौँ विश्वकै प्रदुषित सहर मध्ये पहिलो स्थानमा पुगेको विषय भएको पार्टीले जनाएकोछ । पार्टीको सोमबार बैठक बसेको थियो ।

पार्टीले प्रादेशिक संरचना खारेज नभएसम्म संघीयता विरुद्धको संघर्षलाई जारी राख्ने जनाएको छ ।यस्तै, आहिले आन्दोलनमा रहेका शिक्षकहरुको मागप्रति पनि जनमोर्चाले ऐक्यबद्धता जनाएको छ ।

यस्तै, बरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति पार्टीले दुःख व्यक्त गरेको छ ।