
काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने आदेश भएको हो ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । यो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।
लामिछानेले एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
यस्तै, सरकारी वकिलको कार्यालयले भने फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।
यसैबीच, छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश सदर भएको छ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो ।