काठमाडौँ । आगामी चैत २७ गते कोशी पर्यटन वर्ष २०८२ शुभारम्भको तयारी गरिएको छ ।

कोशी प्रदेश सरकारको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको तिनजुरे क्षेत्रबाट घोषणा गर्ने तयारी भएको हो । यसका लागि भ्रमण वर्षको मुख्य नारा, लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको हो भने ‘रमणीय कोशी’ रहेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु वर्ष २०८१/८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरिएको छ । नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरू प्रयोग गरी लोगो निर्माण गरिएको छ । लोगो र मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अनावरण गरेका छन् ।

पर्यटन वर्षको सन्दर्भमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गरिने बताइएको छ । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी तयार गरिरहेको र उनीहरूले बजार प्रवद्र्धन गर्नेछन् ।

कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा १४ वटा तथा नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जनाइएको छ । कोशीमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेको बताइएको छ । ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड, पोर्टरगाइड ८५ जना रहेको तथ्याङ्क छ । यो प्रदेशमा ४ स्थानमा र्‍याफ्टिङ सञ्चालनमा रहेको जनाइएको छ ।