काठमाडौं । विहीबारबाट सुरु यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देश भरका दुई हजार ८० केन्द्रबाट यसवर्ष पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । बिहान ८ बजेदेखि परीक्षा भइरहेको हो ।
यसवर्ष दुई लाख ५७ हजार ७३० छात्रा, दुई लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् । तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा तालिकानुसार पहिलो दिन विहीबार अनिवार्य अंग्रेजी विषय र संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा रहेको छ ।
गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार दुई सय ८६ जना बढेको पाइएको छ ।