मकवानपुर । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हेटौँडा–५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा धार्मिक विधिअनुसार कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो ।
लामो समयसम्म खोजी गर्दा पनि प्रदीपको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।
प्रदीपका बुवा बाबुराम सापकोटाले छोराको अन्त्येष्टि गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको थियो । छोराको अवस्थाबारे जानकारी नपाएपछि काजकिरिया गर्ने खर्च जुटाउन नसकेको भन्दै उनी केहि दिन अघि जिल्ला प्रशसान कार्यालय मकवानपुर पुगेका थिए ।
प्रदीप रोजगारीका सिलसिलामा रसुवा पुगेका थिए । निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका उनी भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए । बाढी आउनुअघि उनले परिवारसँग दसैँमा घर फर्किने बताएका थिए । तर, त्यसपछि उनको अवस्था पत्ता लाग्न सकेन ।
हेटौँडाका प्रदिप मात्र होइन, भोटेकोशीको बाढीमा बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का नेपाली सेनाका जमदार प्रदिप बर्तौला, सोही स्थानका प्रशान्त कार्की तथा थाहा–६ बज्रवराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि उनीहरुको शव फेला नपरेपछि कुशकै शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । लामो सयमसम्म पनि उनीहरुको अवस्था नखुलेपछि परिवारले धार्मिक परम्पराअनुसार क्रियाकर्म गरिएको हो


















