हेटौंडा । नेपाल प्रहरीले हेटौंडामा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बागमती प्रदेश प्रहरी कार्यालय परिसर हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा स्थापना गरिएको नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले परीक्षण सेवा सुरु गरेको हो।

अपराध अनुसन्धानलाई छिटो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन तथा केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पर्ने कार्यभार घटाउने उद्देश्यले हेटौंडामा प्रयोगशाला स्थापना गरिएको हो। यो मुलुकमा स्थापना भएको नेपाल प्रहरीको चौथो विधिविज्ञान प्रयोगशाला हो। यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला सञ्चालनमा आइसकेका छन्।

करिब १२ करोड रुपैयाँको लागतमा स्थापना गरिएको हेटौंडा प्रयोगशालाले बागमती र मधेश प्रदेशका विभिन्न जिल्लाबाट बरामद हुने लागूऔषधका नमुना परीक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीसहित मधेश प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाहीबाट बरामद हुने लागूऔषधमध्ये करिब ४० प्रतिशत नमुनाको परीक्षण हेटौंडाबाट हुने जनाइएको छ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले हेटौंडामा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग थप प्रभावकारी हुने बताए। उनका अनुसार प्रयोगशालाका कारण अनुसन्धान प्रक्रिया छिटो हुनुका साथै न्याय प्राप्तिको प्रक्रियालाई समेत सहज बनाउन सहयोग पुग्नेछ।

प्रयोगशाला प्रमुख मोहनसिंह धामीका अनुसार सम्बन्धित जिल्लाबाट बरामद लागूऔषधका नमुना तीन दिनभित्र प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था गरिएको छ। प्रयोगशालाले नमुना प्राप्त भएको बढीमा १० दिनभित्र परीक्षण प्रतिवेदन सम्बन्धित जिल्लामा पठाउने कार्यतालिका बनाएको छ। यसले यसअघि नमुना परीक्षणका लागि लामो दूरीमा पठाउनुपर्ने अवस्थाका कारण लाग्ने समय र ढुवानी खर्चसमेत घटाउने अपेक्षा गरिएको छ।

हाल हेटौंडास्थित प्रयोगशालाबाट रसायन तथा लागूऔषध, डिएनए परीक्षण सेवा सुरु गरिएको छ। यी परीक्षणले अपराध अनुसन्धानका क्रममा बरामद सामग्री तथा जैविक प्रमाणको वैज्ञानिक परीक्षण गर्न अनुसन्धान अधिकृतलाई विशेषज्ञ सहयोग उपलब्ध गराउनेछन्।

विधिविज्ञान प्रयोगशालाले अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा समेत सहयोग पुर्‍याउने प्रहरीको भनाइ छ। वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन र अदालतमा प्रमाण प्रस्तुत गर्ने प्रक्रियालाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

हेटौंडामा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि बागमती तथा मधेश प्रदेशका सम्बन्धित जिल्लाबाट नमुना परीक्षणका लागि काठमाडौंलगायत अन्य स्थानमा पठाउनुपर्ने निर्भरता घट्नेछ। यसले अनुसन्धानमा लाग्ने समय र खर्च घटाउनुका साथै अपराध अनुसन्धानलाई वैज्ञानिक प्रमाणमा आधारित बनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेटौंडामै नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएकाले लागुऔषध र जबर्जस्तीकरणीका मुद्दा अदालतबाट छिटो फैसला हुने अधिवक्ता मदन दाहालले बताए । ‘विधिविज्ञान प्रयोगशालाबाट समयमा प्रतिवेदन नआउँदा मुद्दाको फैसला पर धकेलिने गरेको थियो,’ उनले भने ।

उक्त प्रयोगशालामा रसायन तथा लागुऔषध, जबर्जस्तीकरणीअन्तर्गत बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षण गरिने उनले बताए । भदौ २२ गते स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रयोगशालाबाट नमुना परीक्षणसमेत सुरु भइसकेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।