हेटौँडा/आगामी पाँच दिन भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि मकवानपुरको कुलेखानी जलाशय र सिस्नेरी क्षेत्रमा प्रशासनले निगरानी बढाएको छ। सम्भावित जोखिमको मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशय, बाँध तथा आसपासका संवेदनशील क्षेत्रमा पूर्वतयारी तीव्र पारेको हो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा बुधबार कुलेखानी जलाशय तथा सिस्नेरी क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा भारी वर्षाका कारण जलाशयको पानीको सतह बढेर बाँधको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा क्षति नहुने गरी आवश्यक तयारी गर्न आयोजना पक्षलाई निर्देशन दिइएको छ।

प्रजिअ अधिकारीले जोखिमको पूर्वमूल्यांकन गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा केन्द्रित भएर काम गर्न कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिटका प्रमुखलाई निर्देशन दिएका छन्।

२०८१ असोज १२ को घटना प्रशासनको मुख्य चासो

कुलेखानीमा यसपटकको सतर्कताको प्रमुख कारण दुई वर्षअघिको घटना पनि हो। २०८१ असोज १२ गते कुलेखानी जलाशय भरिएपछि बाँधको ढोका खोल्दा सिस्नेरी क्षेत्रमा ठूलो क्षति भएको थियो। त्यस क्रममा सिमखोलाको पुलसहित सडक र ४९ वटा घरमा क्षति पुगेको थियो।

उक्त घटनालाई ध्यानमा राख्दै यसपटक जलाशयको पानीको सतह, निकास र तल्लो तटीय क्षेत्रमा जोखिमको अवस्था वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजना पक्षलाई सचेत गराइएको प्रजिअ अधिकारीले बताए।

उनका अनुसार वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रशासनले सबै पक्षलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय तह तथा सुरक्षा निकायलाई समेत तयारी अवस्थामा राखिएको छ।

राजमार्गमा पनि निगरानी

भारी वर्षाका कारण सडक तथा राजमार्गमा हुनसक्ने जोखिमलाई समेत प्रशासनले प्राथमिकतामा राखेको छ। पृथ्वी राजमार्ग, कान्ति राजपथ, मदन भण्डारी लोकमार्ग, त्रिभुवन राजपथ तथा हेटौँडा–काठमाडौं कुलेखानी सडकमा विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ।

वर्षाको अवस्था हेरेर संवेदनशील राजमार्गमा सवारी आवागमन सञ्चालन गर्ने वा रोक्नेबारे निर्णय गरिने अधिकारीले बताएका छन्। असोज ८ देखि १२ गतेसम्म वर्षाको पूर्वानुमान सार्वजनिक भएकाले सम्भावित जोखिमअनुसार तयारी गरिएको प्रशासनको भनाइ छ।

जलाशयमा पानी थपिँदै, तर उत्पादनले खपत पनि बढाउँदै

कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतका अनुसार पछिल्लो समय कुलेखानी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ। भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण अन्य केही जलविद्युत् आयोजना प्रभावित भएपछि कुलेखानीमा विद्युत् उत्पादनको चाप बढेको उनले बताए।

उत्पादनका कारण हाल जलाशय भरिने अवस्थामा भने नरहेको आयोजनाको भनाइ छ। बुधबार दिउँसो २ बजे जलाशयको पानीको सतह १ हजार ५२२.३८ मिटर रहेको राउतले जानकारी दिए।

जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण दैनिक करिब १५ देखि २० सेन्टिमिटर पानी जलाशयमा थपिने गरेको छ। तर आयोजना २४ घण्टा सञ्चालन हुँदा दैनिक करिब २५ देखि ३० सेन्टिमिटर पानी खपत हुने गरेको छ।

कुलेखानी जलाशयमा अधिकतम १ हजार ५३० मिटर पानी संकलन गर्न सकिने क्षमता रहेको छ।

सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन

आयोजनाका अनुसार जलाशय भरिनुअघि नै आवश्यकताअनुसार बाँधबाट पानी निकास गर्ने व्यवस्था छ। बाँधमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ।

बाँध खोल्नुपर्ने अवस्था आएमा कुलेखानीको तल्लो तटीय क्षेत्र, विशेषगरी सिस्नेरीलगायतका क्षेत्रमा जडान गरिएका साइरनमार्फत पूर्वसूचना दिने व्यवस्था रहेको आयोजनाले जनाएको छ।

यसैबीच प्रशासनले जलाशयदेखि तल्लो तटीय क्षेत्र र राजमार्गसम्मको जोखिमलाई एकीकृत रूपमा मूल्यांकन गर्दै वर्षाको अवस्थाअनुसार थप निर्णय लिने तयारी गरेको छ।