हेटौंडा/नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरु मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।

चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो न्वागी राष्ट्रिय पर्व हो । चेपाङ भाषामा न्वागी भनेको छोनाम हो । पितृ बुझाउने र भूमिपूजा गर्ने पर्वका रुपमा परिचित यस पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झा“क्रीको घरमा जम्मा भएर झा“क्री फलाक्ने गर्दछन् । यस पर्वमा विशेषगरि घैया धान, गाभा, निबुवा, घिरौंलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

‘नया“ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा  पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरुले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यबाद दिने गरिन्छ,’ ८३ वर्षीय झँ“क्री जीतबहादुर चेपाङले भने–नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउ“छ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।

चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रुपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउ“छन् । भदौमा नया अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा छ, यसका लागि चेपाङ झँ“क्री (पान्दे) हरुले एकपाखे ढ्यांग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । ‘पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यबाद नदिइ नया“ बाली खाए अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउ“छ भन्ने धार्मिक विश्वास रहिआएको छ,’ चेपाङ संघ बागमती प्रदेश समितिका उद्धब चेपाङले भने–यस पर्वमा झँ“क्री बसेर रातभर सिमेभुमे फलाकेरमात्र खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।

छरछिमेकी, नाताकुटुम्ब आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । ठाउ“ र कुलअनुसार पनि न्वागी मनाउने चलन फरकफरक छ । चेपाङले न्वागी पर्वलाई पान्देइ घ्यासा चाड पनि भन्छन् । भेला भएर ढ्यांग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाका रुपमा मनाउने गर्दछन् । वारनामा कोही चेपाङ काममा निस्क“दैनन् । यस वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा रातभर ढ्यांग्रोमा फलाकेर विहान न्वागी पूजा सम्पन्न गरिन्छ ।

चेपाङको न्वागीमा सार्वजनिक बिदा

चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउ“दै आएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शृंखलावरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार तीन सय ९९ जना छ । यस समुदायको जनसंख्या सबभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहु“, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बा“के र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको तथ्यांककले देखाएको छ ।

चेपाङ भाषाबाटै धादिङको नाम

धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाट राखिएको भन्ने कथन छ । चेपाङले धा भनेको आगोको ज्वाला र दिङ भनेको देवी देउता हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो,’ चेपाङ संघ बागमती प्रदेश समितिका उद्धब चेपाङले भने । चेपाङहरु पहिलादेखि नै त्यहा“ बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि सोही जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम धादिङ रहन गएको हो भन्ने जनश्रुतिले जनसमर्थन पाएको छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बा“धेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिस“ग सम्बन्धित छ । उनीहरुको मूलथलो गाउ“घर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाट राखिएका छन् ।