हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले रसुवास्थित भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरुका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । भदौ १० गते आएको विनाशकारी बाढीमा सबभन्दा ठूलो पारिवारिक क्षति व्यहोरेका पत्रकार निराजन पौडेलसहित रसुवा, नुवाकोट र धादिङका प्रभावित पत्रकार तथा परिवारलाई शाखामार्फत् तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

रातोपाटी अनलाइनमा कार्यरत् तथा नेपाल पत्रकार महासंघ रसुवा शाखा सदस्य पौडेलले बाढीमा आफ्ना बुबा, आमा, काका, काकी र बहिनी गरी परिवारका पा“च सदस्य गुमाएका छन् । बाढीले उनको घर र सम्पत्तिसमेत बगाएको छ । हाल उनी काठमाडौंको टोखामा आफन्तको किरियामा छन् । महासंघले नुवाकोटका पत्रकार किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता भएका नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघ बागमती प्रदेश समितिले नुवाकोट शाखा अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखा अध्यक्ष केशव पौडेल र धादिङ शाखा अध्यक्ष सीताराम अधिकारीलगायतको समन्वयमा आर्थिक सहयोग गरेको महासंघ अध्यक्ष कृष्ण सारुमगरले बताए । महासंघले उक्त सहयोगलाई विपद्को बेलामा आत्मबल बढाउने काम भएको बताएको छ ।