काठमाडौं÷मृत्यु भएको ठानेर काजकिरिया गरिसकेको व्यक्ति अचानक जिउँदै भेटिए के गर्ने ? आफन्तका लागि यो असम्भवजस्तै लाग्ने प्रश्न हो । तर, विपद्का बेला यस्ता घटना हुन सक्छन् । त्यसपछि परिवारले धार्मिकरुपमा के गर्नुपर्छ भन्ने विषयमा पनि धर्मशास्त्रले बाटो देखाएको छ ।

भदौ १० गतेको विनाशकारी बाढीमा हजारौं मानिस बेपत्ता भए । हराएकामध्ये कतिपयको शव फेला प¥यो भने कतिपयलाई जीवित उद्धार गरियो । यही क्रममा भदौ २० गते बाढी आएको ११ औं दिनमा सशस्त्र प्रहरीले नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई जीवित उद्धार ग¥यो । तर, चण्डिका जीवित उद्धार भइरह“दा उनको परिवारले भने उनी फर्किने आशा मारिसकेको थियो । परिवारले कुशको प्रतीमा बनाएर काजकिरिया सुरु गरिसकेको थियो ।

यस घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ–मृत्यु भएको ठानेर काजकिरिया गरिसकेको व्यक्ति जिउ“दै भेटिए अब के गर्ने ? वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई भने यस्तो असामान्य अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेको बताउ“छन् । ‘मृत्यु भएको ठानेर गरिएको संस्कार आफ्नो ठाउ“मा हुन्छ तर व्यक्ति जीवित भेटिएपछि उसलाई जीवित व्यक्तिका रुपमा पुनः संस्कारको प्रक्रियामा ल्याउने धार्मिक विधि छ,’ उनले भने ।

धर्मसिन्धु, निर्णयसिन्धु आदि धर्मशास्त्रीय मान्यताअनुसार मृत्यु भएको ठानी काजकिरिया तथा अन्तिम संस्कार गरिसकेको व्यक्ति पछि जीवित भेटिएमा पुनः संस्कार गर्नुपर्ने व्यवस्था छ । ‘जीवित भेटिएको व्यक्तिलाई मृत व्यक्तिका रुपमा व्यवहार गरिरहनुपर्ने होइन । बरु उसलाई पुनः जीवन प्राप्त भएको अवस्थाका रुपमा मानेर जन्मदेखि गरिने संस्कार अर्थात् जन्मादि षोडश संस्कार गर्ने धार्मिक मान्यता छ,’ भट्टराईले भने ।

हिन्दु परम्परामा मानिसको जीवनलाई विभिन्न संस्कारस“ग जोडिएको छ । जन्मस“ग सम्बन्धित संस्कारदेखि नामाकरण, अन्नप्राशन, चुडाकर्म, उपनयनलगायत संस्कारले व्यक्तिको जीवनयात्रालाई धार्मिकरुपमा व्यवस्थित गर्ने मान्यता छ । त्यसैले मृत्यु भएको ठानी संस्कार गरिसकेको व्यक्ति जीवित भेटिए उसलाई पुनः संस्कारको प्रक्रियामा ल्याउने व्यवस्था रहेको धर्मशास्त्रीय व्याख्या रहेको बाबा गोरखनाथ पञ्चांगका पञ्चांगकार श्रीकेश कोशिक पनि बताउ“छन् । शव नभेटिएका विपद्का घटनामा परिवारले मृत्यु भएको निष्कर्षमा पुगेर कुशको प्रतीमा बनाइ प्रतीकात्मकरुपमा काजकिरिया गर्ने अवस्था आउन सक्छ । तर, पछि सम्बन्धित व्यक्ति जीवित भेटिएमा पहिले गरिएको मृत्यु संस्कारपछि पनि जीवित व्यक्तिका लागि आवश्यक संस्कार गर्न सकिने धर्मशास्त्रीय मान्यता रहेको उनको भनाइ छ ।

अर्थात्, त्यस व्यक्तिलाई पुनः जीवनमा फर्किएको मान्दै जन्मादि संस्कारको प्रक्रियामा लैजानुपर्ने हुन्छ । यसको अर्थ पहिले गरिएको काजकिरिया गलत भयो भन्ने होइन । उपलब्ध सूचना, घटनाको अवस्था र शव नभेटिएको परिस्थितिमा परिवारले मृत्यु भएको ठानेर गरेको धार्मिक कर्मलाई त्यस बेलाको अवस्थास“ग जोडेर हेर्नुपर्ने हुन्छ । तर, व्यक्ति जिउ“दै फेला परेपछि परिस्थिति पूर्णरुपमा बदलिन्छ ।

विशेषगरि बाढी, पहिरो, दुर्घटना वा अन्य विपद्मा शव फेला नपर्दा परिवारले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा धर्मशास्त्रले निश्चित परिस्थितिमा कुश वा अन्य प्रतीकात्मक माध्यमबाट अन्तिम संस्कार गर्ने विकल्प दिएको पाइन्छ । तर, पछि त्यही व्यक्ति जीवित भेटिए पुनः संस्कारको बाटो खुला रहेको प्राडा भट्टराईको भनाइ छ । चण्डिका श्रेष्ठको घटनाले यही विषयलाई थप चर्चामा ल्याएको छ ।