काठमाडौँ/वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा बिहानैदेखि नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी रक्षासूत्र बाँध्ने र नयाँ यज्ञोपवीत धारण गर्ने चलन छ।
यस दिन तागाधारी समुदायले गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ जनै धारण गर्छन्। त्यस्तै, पूजा तथा मन्त्रद्वारा पवित्र बनाइएको रक्षासूत्र अर्थात् डोरो ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने परम्परा छ।
जनैपूर्णिमालाई ऋषितर्पणीका रूपमा पनि मनाइन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहितका ऋषिको पूजा तथा तर्पण गर्ने भएकाले यस दिनको धार्मिक महत्व विशेष मानिन्छ।
जनै धारण गर्नेहरूले विधिपूर्वक शुद्धीकरण गरी नयाँ यज्ञोपवीत फेर्ने गर्छन्। वैदिक परम्परामा जनैलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ।
जनैपूर्णिमाका अवसरमा राजधानीका पशुपतिनाथ मन्दिर, वसन्तपुर तथा विभिन्न नदी किनार र मठमन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। देशका विभिन्न धार्मिकस्थलमा पनि स्नान, पूजा तथा मेला आयोजना भइरहेका छन्।
यस पर्वको अर्को विशेषता क्वाँटी हो। विभिन्न ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमार्दै तयार पारिएको क्वाँटी आजका दिन खाने चलन छ। धार्मिक तथा आयुर्वेदिक मान्यताअनुसार क्वाँटीको सेवनले शरीरमा ऊर्जा बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छ।
तराई क्षेत्रमा भने जनैपूर्णिमालाई रक्षाबन्धनका रूपमा विशेष रूपमा मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने गर्छन्। पछिल्लो समय राखी बाँध्ने यो परम्परा पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड, मणिचूड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधामका विभिन्न धार्मिकस्थल, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा विशेष धार्मिक गतिविधि तथा मेला लाग्ने गर्छ।











